काठमाडौं । नेपाल आयल निगमले आइतबार कोभिड महामारीबीच पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोलको मूल्य लिटरको १२३ रुपैयाँ डिजेल तथा मट्टितेलको मूल्य १०६ रुपैयाँ पुगेको छ । महामारीका बीच जनतालाई राहत दिनुपर्ने बेला मूल्य बढाएको भन्दै निगमको चौतर्फि आलोचना भएको छ ।
अन्तराष्ट्रिय बजारमै बढेकाले यहाँ पनि मूल्य बढाउनुपरेको तर्क गरे । निगमको कारण भन्दापनि अन्तर्राष्ट्रिय मूल्य र करको कारण महँगो भएको नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलको भनाई छ ।
सरकारले इन्धनमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर, सडक मर्मत सम्भार शुल्क, प्रदुषण कर लिने गरेको आजको नागरिक दैनिकले लेखेको छ । यसका अतिरिक्त निगमले ढुवानी खर्च, बिक्रेताको नाफा, निगमको व्यवस्थापन खर्च, मूल्य स्थिरिकरण कोषलगायत जोडेर भाउ निर्धारण गर्छ ।