Logo
Logo

गृह मन्त्रालय धाउँदै ट्राफिक


दृष्टि संवाददाता

323.9k
Shares

काठमाडौं । नेपाली सेनामा प्रधान सेनापति पूर्णचन्द्र थापाले जर्नेलसम्मका अधिकारीलाई बर्खास्त गरेका छन् । पछिल्लो दुई वर्षमा दर्जनौं सैनिक अधिकारीले जागिर गुमाएका छन् । तर, नेपाल प्रहरीमा भने विभागीय कारबाही गर्दा समेत प्रहरी महानिरीक्षकमाथि दबाब आउने गरेको छ । हालै दुई एसपीलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ग्रेड घटुवाको कारबाही गरेकोमा त्यसलाई रोक्न गृह मन्त्रालयबाटै चलखेल भइरहेको स्रोत बताउँछ ।

ट्राफिकमा रहँदा अनियमितता गरेको पुष्टि भएपछि एसपीद्वय विमल बस्नेत र रामेश्वरप्रसाद यादब तथा इन्सपेक्टर मेघराज चौरसियालाई प्रहरी प्रधान कार्यालयले ग्रेड घटुवाको कारबाही गरेको थियो । एसपी बस्नेत र यादबको पाँच ग्रेड तथा इन्सपेक्टर चौरसियाको चार ग्रेड घटुवा भएकोमा कारबाही उल्टाउन उनीहरु शक्तिकेन्द्र धाउन थालेका छन् ।

ग्रेड घटुवालाई गम्भीर प्रकृतिको विभागीय कारबाही मानिन्छ । पाँच ग्रेड घटुवा हुँदा उनीहरु बढुवामा आफ्ना ब्याचीभन्दा पाँच वर्ष पछि पर्नेछन् । कारबाही टुंगो लागेपनि उनीहरुको निलम्बन फुकुवा अझै भएको छैन । कारबाही कम गरेर मात्र निलम्बन फुकुवा गराउन उनीहरुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ निकटका व्यक्तिहरुलाई भेटेर फकाउन थालेका छन् । यसले भ्रष्ट प्रहरी अधिकारीहरु कति शक्तिशाली छन् र उनीहरुलाई उपल्ला अधिकारीहरुको आशिर्वाद छ भन्ने कुरा महानिरीक्षक थापाले पनि बल्ल बुझ्न थालेका छन् ।

कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा रहँदा उनीहरुले अनियमितता गरेको पाइएपछि गत १७ मंसिरमा गृह मन्त्रालयले निलम्बन गरेको थियो । थप छानबिन गर्दा अनियमितता पुष्टि भएपछि कारबाही भएको थियो ।

एसपीद्वय यादब र बस्नेत छुट्टाछुट्टै समयमा प्रदेश ट्राफिक कार्यालयको इन्चार्जका रुपमा कार्यरत थिए । उनीहरुले ट्राफिक पोष्टहरुमा कर्मचारी खटाउँदा पैसा माग्ने गरेको छानबिनबाट पुष्टि भएको हो । कारबाहीमा परेका दुवै एसपी राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा स्थानान्तरण भएका अधिकृत हुन् । उनीहरुमध्ये यादब त यसअघि पनि निलम्बन र विभागीय कारबाही भोगेका अधिकृत हुन् । त्यतिबेला पनि उनले पैसा खर्च गरेर जागिर जोगाएका थिए । अहिले पनि उनीहरु पैसा खर्च गरेर कारबाही घटाउने दौडधुपमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्