Logo
Logo
राष्ट्रियसभा उपनिर्वाचन

बादललाई सहयोग गर्ने माधव नेपालको वचन


दृष्टि संवाददाता

3.7k
Shares

काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आसन्न राष्ट्रिय सभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई जिताउन पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

आउँदो बिहीबार हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार रहेका बादललाई नेता नेपालबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता आएको बादलका प्रेस संयोजक किरण भट्टराईले बताएका हुन् ।

मंगलबार अपराह्न वरिष्ठ नेता नेपाललाई कोटेश्वरस्थित निवासमा भेटेर सहयोगका लागि आग्रह गरेका थिए । जवाफमा नेपालले पूर्ण सहयोग गर्ने वचन दिएको बादलको सचिवालयले जनाएको छ ।

‘नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बीच आज नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको छ,’ भट्टराईले लेखेका छन्, ‘ भेटवार्ता पार्टीको आन्तरिक विषय र यही जेठ ६ गते हुन गइरहेको राष्ट्रियसभाको उपनिर्वाचनको विषयमा केन्द्रित थियो ।

राष्ट्रिय सभा उपनिर्वाचनमा बादल एमालेका तर्फबाट सूर्य चिह्नमा तथा कांग्रेस, माओवादी र जसपाको एउटा समूहको गठबन्धनबाट डा. खिमलाल भट्टराई कलम चिह्नबाट उम्मेदवार छन् ।

त्यस्तै, उपनिर्वाचनमा नेमकिपाले पनि उम्मेदवारी दिएको छ । कांग्रेस, माओवादी र जसपाको गठबन्धनमा वरिष्ठ नेता नेपाल पक्ष पनि जोडिएको थियो । डा. खिमलाल भट्टराईलाई सबैको सहमतिमा साझा उम्मेद्वारका रुपमा उठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्