काठमाडौं । अक्सिजन सिलिन्डरको कृत्रिम अभाव सृजना गरी बढी मूल्यमा विक्री (कालोबजारी) गरेको अभियोगमा तीन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुरको सातदोबाटो बस्ने नुवाकोट विदुर नगरपालिका–३ का रामकृष्ण घिमिरे, ललितपुर महानगरपालिका–१२ लगनखेल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–६ का नवराज खनाल र ललितपुर महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने धादिङ गल्छी गाउँपालिका–२ का रामशरण अधिकारी रहेका प्रहरी प्रधान कार्यालयले बताएको छ ।
हाल विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमणपछि अस्पतालमा उपचाररत बिरामीका लागि अक्सिजन अभाव भइरहेको सन्दर्भमा कालोबजारी भइरहेको भन्ने विशेष सूचनाको आधारमा खोजी गर्दा उनीहरुलाई ललितपुरबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।
बजारमा अन्दाजी १५ हजार रुपैयाँ पर्ने अक्सिजन सिलिन्डरलाई बजार मूल्यभन्दा बढी लिई प्रतिसिलिन्डर ४१ हजार रुपैयाँमा विक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको महानगरीय प्रहरी परिसर ललितपुरले बताएको छ ।
उनीहरुको साथबाट अक्सिजन भरिएको सिलिण्डर एक थान, सोही सिलिन्डर विक्री गर्दै गरेको नगद ४१ हजार र चार थान रसिदसमेत बरामद गरिएको छ । उनीहरु विरुद्ध कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐनअन्तर्गतको कसूरमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।, यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।