काठमाडौं । विस्तारै सुधार हुन लागेको अर्थतन्त्र पुनः प्रभावित हुनसक्ने नेपाल राष्ट्र बैंकको निचोड छ । केन्द्रीय बैंकले बुधवार सार्वजनिक गरेको ‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव’सम्बन्धी दोस्रो पुनरावृत्तिको सर्वेक्षण प्रतिवेदनले यस्तो निचोड निकालेको हो ।
पछिल्लो सर्वेक्षण नतीजाले २०७७ असारको तुलनामा २०७८ वैशाख १४ गतेसम्ममा करीब औसत ८१ दशमलव २ प्रतिशत उद्योग तथा व्यवसाय सञ्चालनमा आएकाले उल्लेख्य सुधार भएको देखाएको छ । तर, निषेधाज्ञा र कोरोना संक्रमण बढ्दै जाँदा उद्योगहरू पुनः प्रभावित हुन सक्ने राष्ट्र बैंकको आकलन छ ।
औसत ४ दशमलव २ प्रतिशत उद्योग तथा व्यवसाय सञ्चालन हुन सकेका थिएनन् भने १४ दशमलव ६ प्रतिशत आंशिक रूपमा सञ्चालनमा रहेका थिए । यो सर्वेक्षणको नतिजा अवधिलगत्तै अर्थात् वैशाख १६ गतेदेखि कोभिड–१९ महामारीको दोस्रो लहरले अधिकांश जिल्लामा निषेधाज्ञा जारी रहेकाले फेरि अर्थतन्त्र प्रभावित हुनसक्ने राष्ट्र बैंकको ठहर छ ।
गतवर्षको असारको तुलनामा वैशाखसम्ममा उद्योग÷व्यवसायहरूको उत्पादन एवम् कारोबार तथा रोजगारीको अवस्थामा उल्लेख्य सुधार आएको छ । तर, २०७६ फागुनको अवस्थामा भने उद्योग÷व्यवसायहरू पुग्न सकेको देखिँदैन । सर्वेक्षणअनुसार कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा औसतमा करीब २९ प्रतिशतमात्र उत्पादन÷कारोबार भएको थियो । २०७८ वैशाखमा आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ६१ दशमलव ४ प्रतिशत पुगेको छ ।
‘गत असारको तुलनामा अध्ययनले समेटेका सबै क्षेत्रको उत्पादन/कारोबार बढेको पाइएको छ । तर, होटेल तथा रेस्टुराँको उत्पादन र कारोबारको स्थिति ४० दशमलव ८ प्रतिशत मात्र पुगेको छ जुन अन्य व्यवसायहरू भन्दा सवैभन्दा कम हो,’ सर्वेक्षणमा उल्लेख छ ।
राष्ट्र बैंकको सर्वेक्षणअनुसार वैशाखको आधा महीनासम्ममा ७४ दशमलव ४ प्रतिशत घरेलु उद्योगहरू पूर्ण सञ्चालनमा रहेका थिए । यस्तै, ७९ दशमलव २ प्रतिशत लघु उद्यम तथा साना खुद्रा व्यापार, ८१ दशमलव ७ प्रतिशत साना (रू. १५ करोडसम्मको स्थिर पूँजी भएको), ७४ प्रतिशत मझौला (रू. १५ करोडदेखि ५० करोडसम्म) र ९० दशमलव ५ प्रतिशत ठूला (रू. ५० करोडमाथिका स्थिर पूँजी भएका) उद्योग सञ्चालनमा आइसकेका थिए ।, यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।