काठमाडौं । रक्षामन्त्रीको रुपमा असफल भएका उपप्रधानमन्त्री ईश्वर पोखरेलले गृह मन्त्रालयमा दाबी गरेका छन् । गृहमन्त्री रहेका रामबहादुर थापा बादलको पद सर्वाैच्च अदालतको फैसलासँगै गुमेपछि गृह खाली भएको छ ।
हाल प्रधानमन्त्री कार्यालयका मन्त्रीका रुपमा कार्यरत पोखरेलले सुरुदेखि नै गृह वा अर्थ मन्त्रालयको दाबी गरेका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिए । रक्षामा सेनासँग विवाद भएपछि उनलाई त्यहाँबाट हटाएर प्रधानमन्त्री कार्यालयको जिम्मेवारी दिइएको थियो ।
सिसिएमसीका संयोजकका रुपमा उनी विवादित भएका थिए । सुरुमा ओम्नी काण्डमा मुछिए । पछि सेनामार्फत भएको खरिदमा पनि उनको नेतृत्व सफल हुन सकेन । पछिल्लो समय अक्सिजन वितरणमा पनि सिसिएमसी असफल भएको थियो । एकपछि अर्काे जिम्मेवारीमा उनी असफल देखिएका छन् ।
उनै पोखरेलले आफुलाई गृहको जिम्मेवारी दिन प्रस्ताव गरेको बालुवाटार स्रोत बताउँछ । गृहसहित सात वटा मन्त्रालय रिक्त भएका छन् । रिक्त मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्ने कि प्रधानमन्त्री आफैंले राख्ने टुंगो लागेको छैन ।