Logo
Logo

सत्ता स्वार्थले जसपा एकता धरापमा


दृष्टि संवाददाता

819
Shares


काठमाडौं । नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टी (जसपा) का दुई अध्यक्षमध्ये महन्थ ठाकुर केपी शर्मा ओलीको पक्षमा र उपेन्द्र यादव शेरबहादुर देउवाको पक्षमा बहुमत जुटाउन शुक्रबार दिनभर सक्रिय भए ।

सत्ताका लागि दुई अध्यक्ष दुई कित्तामा उभिँदा पार्टी एकता धरापमा पर्ने देखिएको छ । ठाकुरले पार्टीको लेडरप्याडमा प्रधानमन्त्री ओलीलाई समर्थन गरेको बेहोरा उल्लेख गर्दै हस्ताक्षर गरेका छन् । त्यस्तै जसपा संसदीय दलको नेताको हैसियतमा राजेन्द्र महतोले पनि संसदीय दलले ओलीलाई समर्थन गरेको बेहोराको पत्रमा हस्ताक्षर गरेका छन् ।

यादवले भने प्रधानमन्त्रीमा ओलीलाई समर्थन गर्ने पार्टी निर्णय नभएको बताएका छन् । एमाले अध्यक्ष ओलीले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि राष्ट्रपतिसँग पेस गरेको दाबीमा ठाकुर र महतोको चिठीलाई पनि आधार मानिएको छ । ठाकुर र महतोको चिठीलाई आधार मानेर ओलीले जसपाका ३२ सांसद आफ्नो पक्षमा रहेको दाबी गरेका छन् ।

३२ जनामा बाबुराम भट्टराई र उपेन्द्र यादव पनि पर्छन । यादव र भट्टराईको समर्थन पनि आफूलाई भएको दाबी ओलीको छ । तर, भट्टराई र यादवले कुनै पनि हालतमा ओलीको पक्षमा जान नसकिने बताएका छन् ।

यादव नयाँ सरकार गनका लागि नेपाली कांग्रेसका सभापति देउवाको पक्षमा बहुमत पुर्‍याउन शुक्रबार दिनभर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगका बैठकमा सहभागी भए । कांग्रेस संसदीय दलको कार्यालयमा यादवले बैठक गरे भने नजिकै रहेको पूर्वराजपा संसदीय दलको कार्यालयमा ठाकुर र महतोले अर्को बैठक गरे । देउवालाई समर्थन गर्ने पार्टी कार्यकारिणी समितिको निर्णय भएको अध्यक्ष यादवले बताए ।

ओलीको पक्षमा ठाकुर र महतो लाग्नु दुभाग्र्यपूर्ण भएको यादवको भनाइ छ । ‘उहाँहरू (ठाकुर र महतो) तटस्थ बस्छौं भन्नुहुन्थ्यो । तर ओलीलाई प्रधामन्त्री बनाउन चिठी बोकेर जानु भयो’, यादवले भने, ‘यस्तो हुनु दुभाग्र्यपूर्ण हो ।’ यादव पक्षले शनिबार कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

ठाकुरले शुक्रबार विज्ञप्ति निकाली शनिबार बोलाइएको कार्यकारिणी समितिको बैठक कोरना महामारीका कारण स्थगित भएको जनाएका छन् । ठाकुरले विज्ञप्ति निकालेलगत्तै यादवले अर्को विज्ञप्ति निकाली शनिबार बस्ने कार्याकारिणी समितिको बैठक स्थगित नभएको जनाएका छन् । ५१ सदस्यीय कार्यकारिणी समितिमा यादवको पक्षमा २८ जना रहेको दाबी गरिएको छ ।

त्यसैले कार्यकारिणी समितिको बैठक बोलाउन ठाकुर पक्षले आलटाल गर्दै आएको छ। वैशाख १४ गते बोलाइएको कार्यकारिणी समितिको बैठक ठाकुर पक्षका सदस्यले बहिष्कार गरेका थिए । अध्यक्ष यादवले पार्टी नीतिविपरित जाने ठाकुर पक्षका नेताहरूलाई कारबाही हुन सक्ने बताए । उनका अनुसार कारबाहीको विषयमा शनिबार बस्ने कार्यकारिणी समितिको बैठकमा छलफल हुनेछ । ठाकुर पक्षले पनि ओलीलाई समर्थन गर्ने पार्टीको निर्णय भएको दाबी गरेको छ ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्