काठमाडौं । नेकपा एमालेमा देखिएको विवाद सरकार बन्ने र भत्कने खेलको कारण बनेको छ । एमालेमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहमा देखिएको टकरावले सरकारको स्थिरतामा समस्या आएको हो ।
एमालेभित्रकै विवादका कारण पुर्नस्थापित प्रतिनिधिसभाले समेत राम्रोसँग काम गर्न नसकेपछि यो संस्थासहित ओली नेतृत्वको सरकार पनि धरापमा परेको छ । एमालेमा विवाद समाधानका लागि कार्यदल गठन भए पनि त्यसले राम्रोसँग काम सुरु नगर्दै थप विवाद खडा हुन थाल्यो ।
कार्यदलको शुक्रबारको बैठकमा समेत सरकार गठनलाई लिएर सबालजबाफ भएको एक सदस्यले बताए । बैठकमा पार्टीका २६ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेको विषयमा छलफल भएको थियो । दुवै पक्षबीच हस्ताक्षर ‘दुरुपयोग’ का विषयमा सवाल जवाफ बैठकमा सहभागी सदस्यले भने ।
वरिष्ठ नेता नेपाल निकट सांसदले देउवाका पक्षमा हस्ताक्षर गरेपछि पार्टी फुटको तहमा पुगेको तर्क प्रधानमन्त्री ओली निकट नेताले सुनाएपछि त्यही विषयमा बैठक केन्द्रित हुन पुग्यो । बैठकमा पार्टी एकता जोगाउने विषयमा छलफल भएको सदस्यहरूले बताए पनि कार्यदलको औचित्य नै सकिएजसरी कुराकानी भएको स्रोतको दाबी छ ।
‘राष्ट्रिय परिस्थितिबारे सौहाद्र्रपूर्ण छलफल भयो, सबैले आआफ्ना दृष्टिकोण राख्नुभयो । छलफलमा पार्टी एकता जोगाउनुपर्छ भन्नेमा सबैबीच सहमति भएको छ । अर्को बैठक दुवै पक्षको सहमतिमा एकदुई दिनमा राख्नेगरी उठेका छौं,’ कार्यदलका सदस्य रघु पन्तले भने ।
बैठकमा भीम रावलले संसद् विघटन रोक्न देउवाका पक्षमा हस्ताक्षर गरेको जवाफ दिएका थिए । ओली समूहका नेताहरूले भने देउवाको पक्षका गरिएको हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए । कार्यदलका सदस्य प्रदीप ज्ञवालीले देउवाको पक्षमा हस्ताक्षर गर्नु गम्भीर भएको बताएका थिए ।
कार्यदलको बैठक सकिएपछि नेपालनिकटका सांसदमध्ये जयकुमार राईले आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्दै राष्ट्रपतिलाई पत्राचार गरेका थिए । त्यस्तै योगेश भट्टराईले पनि देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा हस्ताक्षर नगरेको बताएका छन् । अहिले पनि आफ्नो ध्यान पार्टी एकतामै रहेकाले देउवालाई प्रधानमन्त्री बनाउने गरी हस्ताक्षर नगरेको उनले बताएका छन् ।
‘मेरो राजनीतिक जीवनकै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ ,सही गरें कि गलत गरें, इतिहासको कठोर मूल्यांकनमा खडा छु’, नेता भट्टराईले भने । सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट, नारायण खतिवडा, गणेश पहाडी, दीपकप्रकाश भट्ट र पवित्रा निरौला खरेलले पनि हस्ताक्षर दुरुपयोग भएको आरोप लगाएको बताइएको छ । तर उनीहरूले अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएका छैनन् ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।