काठमाडौं । काठमाडौंको छिमेकी जिल्ला काभ्रेपलाञ्चोकमा कोरोना संक्रमण उच्च देखिएको छ । देशभरीकै जिल्लामध्ये जनसंख्याका आधारमा काभ्रेमा संक्रमणदर सबैभन्दा उच्च छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार काभ्रेमा पाँच सय २५ जनामा संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै उच्च रेकर्ड हो । जून सिंगो गण्डकी प्रदेशमा देखिएको संक्रमणभन्दा धेरै हो । गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा जम्मा ३ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ ।
सुरुवाती दिनमा सहरी क्षेत्रमा मात्र लकडाउन गर्दा यसरी कोरोना गाउँ गाउँसम्म फैलिएको हो । गाउँ गाउँमा फैलिएपछि पाँच वटा स्थानीय तह सिल गरिएको छ । बनेपा, धुलिखेल, पनौती, पाँचखाल, नमोबुद्ध नगरपालिका तथा रोशी गाउँपालिका सिल गरिएको छ । पछिल्लो समय बनेपा र धुलिखेल भन्दा ग्रामिण क्षेत्रमा संक्रमण धेरै देखिएको छ ।
पर्सा, मोरङ, झापा, चितवन, रुपन्देही, बाँके, कास्की, ललितपुर जस्ता घना बस्ती भएका जिल्लामा भन्दा काभ्रेमा धेरै संक्रमण हुनु डरलाग्दो विषय भएको चिकित्सकहरुले बताएका छन् । तर, जिल्लामा पर्याप्त परीक्षण र कन्ट्याक्स ट्रेसिङ हुन सकेको छैन। कतिपयको सिकिस्त बिरामी भएपछि मात्र परीक्षण हुने गरेको छ भने कतिपयको मृत्युपछि कोभिड पुष्टि भएको छ ।
हाल काभ्रेमा सक्रिय संक्रमितको संख्या दुई हजार ६ सय ५१ छ । जसमध्ये ११९ जना अस्पतालमा छन् । काभ्रेमा कोरोनाबाट हालसम्म एक सय ४२ जनाको मृत्यु भएको छ ।