काठमाडौं । ५ वर्षभित्र नेपालमा सिमेन्टको माग अहिलेको भन्दा दोब्बरभन्दा बढी हुने प्रक्षेपण गरिएको छ । ठूला पूर्वाधारका आयोजनाहरू निर्माणाधीन रहेको र नयाँ आयोजनाहरू पनि कार्यान्वयनमा जाने भन्दै सन् २०२५ सम्ममा नेपालमा सिमेन्टको माग वार्षिक २ करोड ५८ लाख मेट्रिक टन (मेटन) पुग्ने प्रक्षेपण नेपाल राष्ट्र बैंक गरेको छ ।
२०२०र२१ लाई आधार वर्ष मान्दै केन्द्रीय बैंकले आगामी ५ वर्षसम्ममा सिमेन्टको माग बढ्दै जाने प्रक्षेपण गरेको हो । अहिले नेपालको आन्तरिक बजारमा सिमेन्टको माग झन्डै करोड नजिक अर्थात् ९० लाख ५० हजार मेटन रहेको छ ।
हाल सञ्चालनमा आएका ५५ सिमेन्ट उद्योगहरूको वार्षिक कुुल जडितक्षमता भने १ करोड ५० लाख मेटन रहेको छ । केन्द्रीय बैंकका अनुसार सबै सिमेन्टहरू उत्पादन क्षमताअनुसार सञ्चालनमा आएका छैनन् । अर्थात् पूर्ण क्षमतामा सञ्चालन भएका छैनन् ।
‘नेपालमा सिमेन्ट उद्योगमा वैदेशिक लगानी स् आर्थिक सामाजिक प्रभावको अध्ययनसम्बन्धी प्रतिवेदन’ शुक्रवार सार्वजनिक गर्दै केन्द्रीय बैंकले राष्ट्रिय गौरवका आयोजनाहरू, गौतम बुद्ध, पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणाधीन रहेको र अरू मेगा प्रोजेक्टहरू पनि पाइपलाइनमा रहेकाले सिमेन्टको माग बढ्ने प्रक्षेपण गरेको छ ।
पाइपलाइनमा रहेका बूढीगण्डकी जलविद्युत् आयोजना, माथिल्लो मर्स्याङ्दी जलविद्युत् (दोस्रो), कालिगण्डकी गर्ज, आँखु खोला जलविद्युत्जस्ता आयोजनाहरूका कारण पनि आगामी वर्षहरूमा सिमेन्टको माग बढ्ने देखिएको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी, प्रत्यक्ष वैदेशिक लगानीका उद्योगहरू थप खोल्न दिन पनि केन्द्रीय बैंकले सुझाव दिएको छ । नेपालमा उपलब्ध चुनढुंगा खानीलाई उपयोगमा ल्याई आन्तरिक माग परिपूर्ति गर्न, आयात कटौती तथा निर्यात प्रवर्द्धन गर्न वैदेशिक लगानीमा थप सिमेन्ट उद्योग खोल्न दिनु उपयुक्त हुने सुझाव केन्द्रीय बैंकले दिएको छ ।
उसले अहिले पनि वार्षिक रूपमा १५ लाख ६० हजार मेटन सिमेन्ट आयात भएको भन्दै यसलाई कटौती गर्न आन्तरिक उत्पादन क्षमताअनुसार नै उत्पादन गर्न पनि सुझाव दिएको छ ।, यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।