काठमाडौं । रोबर्ट लेवान्डोस्कीले नयाँ किर्तिमान बनाएका छन् । उनले जर्मन बुन्डेसलिगामा एकै सिजन ४१ गोल गरेर नयाँ किर्तिमान बनाएका हुन् ।
सन् १९७१–७२ मा गर्ड मुलरले ४० गोल गर्दै एकै सिजन सर्वाधिक गोल गर्ने किर्तिमान बनाएका थिए, जसलाई गत साता लेवान्डोस्कीले बराबरी गरे ।
अहिले अग्सवर्गविरुद्धको खेलमा गोल गर्दै लेवान्डोस्कीले आफ्नो गोलसंख्या ४१ पुर्याए । यस सिजनको अन्तिम खेलमा बार्यन म्युनिख ४–२ ले अघि रहेको अवस्थामा ९० औं मिनेटमा लेवान्डोस्कीले गोल थपेका हुन् । यस खेलअघि नै बार्यनले बुन्डेस लिगा उपाधि भने जितिसकेको थियोे । बार्यनले लगातार नवौंपटक उपाधि जितेको हो ।
अन्तिम खेलमा हासिल गरेको जीतसँगै लिगमा ३४ खेलबाट बार्यनको ७८ अंक पुगेको छ । जो, दोस्रो स्थानको आरबी लेइपजिगभन्दा १३ अंकले अघि हो ।
पोल्यान्डका लेवान्डोस्कीले जारी सिजनमा सबैखाले प्रतियोगिता गरेर बार्यनका लागि कुल ४८ गोल गरेका छन् । लेवान्डोस्कीले आफ्नी आमाको जन्मदिनको दिन ऐतिहासिक गोल गरेका हुन् । त्यसैले उनले यो गोल आमाप्रति समर्पित रहेका बताए । त्यस्तै उनले गर्ड मुलरको पनि प्रशंसा गरेका थिए ।
‘म उनलाई ठूलो सम्मान गर्छु मैले उनीबारे धेरै सुनेको छु । मलाई लाग्छ उनी मेरो किर्तिमानबाट गर्वित छन् किनकी यति धेरै गोल गर्नु के हो भन्ने उनलाई थाहा छ,’ लेवान्डोस्कीले भने, ‘यो किर्तिमान मेरो टिमको पनि हो र फुटबलको इतिहासको पनि हो ।’