काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डले दुवै पक्षले चाहे अझै पनि पार्टी एकता सम्भव रहेको बताएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनले सांसददको हस्ताक्षर संकलन गरिरहेको नयाँ बानेश्वरस्थित संसद भवनबाट बाहिरिने क्रममा नेता पाण्डले अझै पनि दुवै समूहले चाहे पार्टी एकता सम्भव रहेको प्रतिकृया दिएका हुन् ।
पत्रकारसँग कुरा गर्दै नेता पाण्डले भने– ‘सम्भावना जहिले पनि रहन्छ । दुवै पक्षले चाहने हो भने पार्टी एकता अझै सम्भव छ ।’
पछिल्लो राजनीतिक घटनाक्रमले नेकपा एमाले विभाजनको अन्तिम अवस्थामा पुगे पनि नेता पाण्डे बारम्बार पार्टी एकताको पक्षमा रहँदै आएका छन् । तर, शेरबहादुर देउवालाई नै प्रधानमन्त्री नियुक्ति गर्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गर्ने प्रयाेजनमा तयार पारिएकाे पत्रमा पाण्डेले पनि हस्ताक्षर गरेका छन् ।