काठमाडौं । नबिल बैंकले नेसनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लाई अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने समझदारी गरेको छ । कोभिड–१९ को दोस्रो लहर तीव्र गतिमा फैलिँदै जाँदा अस्पतालमा बिरामीले अक्सिजन नपाउने समस्या देखिएपछि बैंकले सरकारलाई सहयोग गरेको हो ।
समझदारीअनुसार बैंकले ५० क्युबिक लिटर प्रतिघन्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गर्ने जनाइएको छ । वीर अस्पतालमा अक्सिजन प्लान्टसँगै केही अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर प्रदान गर्नलाई बैंकले थप प्रकिया अगाडि बढाइसकेको जनाएको छ । प्लान्ट स्थापनाले अस्पताललाई आवश्यक अक्सिजन उपलब्ध गराउने र यसबाट धेरै बिरामीको ज्यान बचाउन सकिने बैंकले विश्वास व्यक्त गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोभिड महामारीको सुरुवाती समयदेखि नै नेपाल सरकारलाई विभिन्न तरिकाले सहयोग गर्दै आएको जनाएको छ । चालू आवमा कोभिड– १९ को प्रतिकार्यका लागि बैंकले सरकारलाई ६ करोड रुपैयाँ सहयोग गरेको जनाइएको छ । त्यस्तै, चालू आर्थिक वर्षमा सरकारी, गैरसरकारी र मानवीय कार्यमा संलग्न संस्थाका ३ सय ३० जना स्वास्थ्यकर्मीलाई एकदिने अभिमुखीकरण तालिम दिइएको बैंकले जनाएको छ । बैंकले हालसम्मको काम र समझदारीअनुसार कोभिड–१९ रोकथाम र नियन्त्रणमा लगभग ८ करोड रुपैयाँ सहयोग गरेको जनाएको छ ।