काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले उपेन्द्र यादव पक्षको कार्यकारिणी बैठकले गरेको निर्णय मान्य नहुने जनाएको छ ।
आइतबार काठमाडौंमा बसेको महन्थ समूहका नेताहरुको बैठकले कोरोना महामारीमा कारण स्थगित गरिएको बैठक अर्को पक्षले एकलौटी ढंगले बोलाएको भन्दै उक्त बैठकले गरेको निर्णय मान्य नहुने निर्णय गरेको हो ।
त्यस्तै पार्टीले गरेको निर्णय बिपरित बैठक बसेको भन्दै कारवाही गर्ने चेतावनी पनि उनीहरुले दिएका छन् । बैठकपछि जसपा नेता सुरेन्द्र झाले जेठ ८ र ९ गतेका लागि तय भएको जसपाको कार्यकारिणी समितिको बैठक कोरोना महामारीमा कारण स्थगित गरिएका बेला अर्को पक्षको कार्यकारिणी बैठक बस्नु उचित नभएको बताए । उनले यादव पक्षले पार्टीका नेताहरुलाई कारवाही गर्ने निर्णय गर्नु हास्यास्पद रहेको धारणा राखे ।
यसअघि शनिबार बसेको जसपाको उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षको कार्यकारिणी बैठकले चार नेतामाथि कारबाही गर्ने निर्णय गरेको थियो ।