Logo
Logo

१० महिनामा साढे ११ खर्ब घाटा


दृष्टि संवाददाता

189
Shares

काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्म १० महिना अवधिमा ११ खर्ब ४५ अर्ब ६३ करोेड ४ लाख २३ हजार व्यापार घाटा भएको छ । गत वर्ष सोही अवधिमा ९ खर्ब ४३ अर्ब ७ करोड ३० लाख मात्र व्यापार घाटा थियो ।

भन्सार विभागका अनुसार साउनदेखि वैशाखसम्म नेपालले १३ खर्ब ६२ अर्ब ५८ करोड ९९ लाख ३५ हजार वैदेशिक व्यापार गरेको छ । यसअवधिमा १२ खर्ब ५४ अर्ब ११ करोड १ लाख ७९ हजार वस्तु तथा सेवा आयात गरेको छ ।

निर्यात भने १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख ५६ हजार भएको छ । नेपालले निर्यात लक्ष्यको १० वर्षपछि सफलता पाएको हो । १० वर्षअघि नै १ खर्बको निर्यात लक्ष्य राखे पनि चालू आर्थिक वर्ष १० महिनामै सफलता मिलेको हो ।

भन्सार विभागका अनुसार वैदेशिक व्यापार घाटा अघिल्लो वर्षको तुलनामा साढे २१ प्रतिशत बढेको छ । व्यापार घाटा बढे पनि निर्यात प्रतिशत ३२ प्रतिशतले बढेको छ । आयात २२ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागका अनुसार कुल वैदेशिक व्यापारमा आयात हिस्सा ९२ दशमलव शून्य ४ र निर्यात ८ प्रतिशत छ ।

सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग छ । १० महिनामा भारतसँग मात्र ७ खर्ब ३६ अर्ब ३० करोड ३२ लाख ८५ हजारबराबर व्यापार घाटा भएको छ । भारतबाट ८ खर्ब १५ अर्ब ६३ करोडको आयात हुँदा ७९ अर्ब ३२ करोड ७४ लाखबराबर मात्र निर्यात भएको छ ।

भारतपछि चीनसँग १ खर्ब ८२ अर्ब २९ करोडको व्यापार घाटा भएको छ । चीनतर्फ चालू आवमा ८९ करोड ७६ लाख २६ हजारको मात्र निर्यात भएको छ ।

यसैगरी, अर्जेन्टिनासँग ३० अर्ब ४२ करोड ७९ लाख र संयुक्त अरब इमिरेट्सँग ३० अर्ब २२ करोडको व्यापार घाटा रहेको छ । युुक्रेनसँग १३ अर्ब १५ करोड, इन्डोनेसियासँग १३ अर्ब १४ करोड र क्यानाडासँग १२ अर्बको व्यापार घाटा छ ।

व्यापार घाटा रहेका मुलुकमा दक्षिण कोरिया, दक्षिण अफ्रिका, मलेसिया, थाइल्यान्ड छन् । अन्य मुलुकमा साउदी अरेबिया, भियतनाम, बंगलादेश, पाराग्वे, सिंगापुर, जापना, ओमान र अमेरिका क्रमिक रूपमा छ ।

व्यापार नाफा भएका मुलुकमा सबैभन्दा अगाडि लेबनान रहेको छ । लेबनानसँग १८ करोड ८ लाख ८८ हजार रुपैयाँको व्यापार नाफा छ । लेबनानबाट ९८ लाख ६० हजारको आयात हुँदा १९ करोड ७ लाख ४९ हजार रुपैयाँको निर्यात भएको छ ।, यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्