Logo
Logo

ओलीका दुई अस्त्रः पहिलो विघटनले नेकपा भंग, दोस्रो विघटनले एमाले विखण्डन


दृष्टि संवाददाता

4.7k
Shares

काठमाडौं । पहिलोपटक संसद् विघटनसँगै उत्पन्न विवादले जसरी शक्तिशाली नेकपालाई विभाजित गरेको थियो, त्यस्तै तरिकाले प्रधानमन्त्री केपी ओलीले दोस्रोपटक संसद् विघटन गरेपछि देखिएको तनावले सत्तारुढ दल एमाले विभाजनउन्मुख भएको छ  । लगातार १५ वर्ष पार्टीप्रमुख बनेका माधव नेपाल र १२ वर्ष नेतृत्व गरिसकेका झलनाथ खनाललाई संस्थापन पक्षले साधारण सदस्यसमेत नरहने गरी निष्कासनको आश्चर्यजनक कारबाही गरेको छ  । नाटकीय र अप्रत्यासित रूपमा कुनै ठूलो घटनाक्रम विकसित नभए एमाले विभाजनको अब औपचारिकता मात्रै बाँकी छ  ।

प्रमुख विपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षरपछि रिट लिएर सर्वोच्च अदालत पुगेका झलनाथ खनाल र माधवकुमार नेपालसहितका ११ नेता तथा निवर्तमान सांसदलाई एमालेले सोमबार साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो  । प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको बैठकले उच्च तहका नेतामाथि गरेको कारबाहीले क्रान्तिकारी पार्टी निर्माणको माग गरेको वरिष्ठ नेता नेपालले बताएका छन्  ।

कांग्रेस सभापति एवं विपक्षी दलका नेता देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २६ मध्ये ११ जनालाई शनिबार बसेको स्थायी कमिटी बैठकले २४ घन्टाको समयसीमा तोकेर स्पष्टीकरण मागेको थियो  । तर, कसैले पनि स्पष्टीकरण नबुझाएको भन्दै नेपाल, खनाल र भीम रावलसहित निवर्तमान सांसदहरू मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, सरलाकुमारी यादव, पुष्पाकुमारी कर्ण कायस्थ, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु र कलिला खातुनलाई बैठकले कारबाही गरेको हो ।

वरिष्ठ नेता नेपाल, रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल दोस्रोपटक कारबाहीमा परेका हुन् । दोस्रो तहका नेताहरूको सक्रियतामा ओली–नेपाल वार्तापछि उनीहरूमाथिको अघिल्लो कारबाही फिर्ता भएर एकताका लागि सकारात्मक वातावरण बने पनि देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न हस्ताक्षर र ओलीले संसद् विघटन गरेसँगै एमाले फुटको संघारमा पुगेको हो  । एकताको वातावरण बनाउन दोस्रो पुस्ताका नेताहरूले प्रयास गरे पनि उनीहरूसमेत असफल बनेका छन्  ।, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्