काठमाडौं । कोरोना महामारीकाबीच सरकारले मध्यावधि निर्वाचन घोषणा गरेपछि सुरक्षा निकायमा तनाव थपिएको छ । महामारी तिव्र रुपमा गाउँ –गाउँसम्म फैलिरहेका बेला निषेधाज्ञा कार्यान्वायनमा प्रहरी यतीबेला देशभरी खटिएको छ । अझै महामारी कम हुने संकेत देखिएको छैन । भ्याक्सिन पनि तत्कालै आउने सम्भावना नभएकाले केही महिना देशमा महामारी रहने निश्चित जस्तै छ ।
विगत एक वर्षसम्म प्रहरीले नियमित बिदा समेत पाएका छैनन् । डिउटी अवधि समेत थपिएको छ । यस्तो अवस्थामा अब दोहोरो जिम्मेवारी निर्वाह गर्नुपर्ने भएपछि सरकारको सिफारिसमा राष्ट्रपतिबाट भएको निर्वाचन घोषणाप्रति प्रहरी सन्तुष्ट छैन ।
फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीले खोप समेत लगाउन पाएका छैनन् । हालसम्म करिब १२ हजार प्रहरीले मात्र दोस्रो डोज खोप लगाएका छन् । सशस्त्र प्रहरीका पनि करिब १८ हजारले दोस्रो डोज लगाएका छन् । नेपाली सेनाका त सात हजारले मात्र दोस्रो डोज लगाएका छन् । ५ सय भन्दा धेरै प्रहरी दोस्रो पटक संक्रमित हुन पुगेका छन्, केहीले ज्यान गुमाइरहेका छन् ।
समाचारअनुसार, अवस्थामा सुरक्षाकर्मी नै असुरक्षित छन् । सडकमा आन्दोलन नियन्त्रणदेखि कोभिडबाट मृत्यु भएकाको शव व्यवस्थापनमा समेत उनीहरु खटिनु परेको छ । यस्तो बेला चुनावको तयारीमा समेत जुट्न धेरै नै कठिन हुने एक उच्च प्रहरी अधिकारी बताउँछन् ।
त्यतो कात्तिकसम्म कोरोना नियन्त्रण हुने सम्भावना समेत देखिन्न । अहिलेको दोस्रो लहर कम भएपनि तेस्रो लहर आउने लगभग पक्का भएको चिकित्सकहरुले बताएका छन् । तेस्रो लहरलाई रोक्ने भनेको भ्याक्सिनले मात्र हो । त्यो पनि नेपालमा अनिश्चत भएकाले चुनाव हुने सम्भावना छैन । स्वास्थ्यकर्मीहरुले समेत बिज्ञप्ती निकालेर चुनावको निर्णय फिर्ता गर्न आग्रह गरिसकेका छन् ।
गत शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै ओलीले अमेरिकामा समेत महामारीमै चुनाव भएको र भारतमा समेत यही बेला चुनाव भएको भनेर कुतर्क गरेका थिए । ओलीकै यस्तै दम्भ र कुतर्कका कारण जनताका साथै राष्ट्रसेवक कर्मचारी समेत वाक्क भइसकेका छन् ।