काठमाडौं । आइतबार र सोमबार लगातार बढेको सेयर बजारमा मंगलबार भने करेक्शन देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ६ दशमलव ५० अंकले घटेर २ हजार ८ सय १६ दशमलव ५६ अंकमा झरेको छ ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ५१ अंकले घटेर ५ सय ३ दशमलव ९९ अंकमा झरेको छ । सोमबार १३ अर्ब नाघेर इतिहास रचेको कारोबार रकम मंगलबार भने केहि कम देखिएको हो ।
२ सय १६ कम्पनीको २ करोड ३५ लाख कित्ता सेयर एक लाख १२ हजार पटक किनबेच भएका छन् । बजार ६ अंकले घटेपनि वरुण हाइड्रोपावर, माउन्टेन हाइड्रो, युनिभर्सल पावर र घलेम्दी हाइड्रोको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।
अधिकांश उपसमूहको सूचक रातो भए पनि जीवन बीमा समूहको सूचक सर्वाधिक ४ सय ३१ अंकले बढेको छ । निर्जीवन बीमा समूह २ सय ५३ अंक र जलविद्युत समूह ६४ अंकले बढेको छ ।