सिन्हवा न्यूज एजेन्सीले गत साता एउटा समाचार प्रकाशित गर्दै चिनियाँ कम्युनिष्ट पार्टीका २७० जना नेता र कार्यकर्तामाथि पार्टीको केन्द्रीय अनुशासन आयोगले भ्रष्टाचार गरेको आरोपमा कारवाही गरेको बताएको छ ।
आयोगले ती व्यक्तिहरुको नाम आफ्नो वेबसाइटमै राखेर कुन–कुन नेतामाथि के कति कारणले कारवाही गरिएको हो भन्ने विवरणसमेत उल्लेख गरेको छ । सिन्हवाका अनुसार चीनको माथिल्लो तहदेखि हरेक सरकारी निकायको उच्च पदमा कम्युनिष्ट पार्टीकै पदाधिकारी नियुक्त हुने प्रचलन छ ।
पार्टीको सिफारिसमा नियुक्त त्यस्ता नेता, कार्यकर्ता र पदाधिकारीले गर्ने भ्रष्टाचार, अनियमितताका विषयमा भ्रष्टाचार नियन्त्रणसम्बन्धी चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च निकायले नियमित अनुगमन गर्छ । प्रत्येक वर्ष अनुशासन आयोगले भ्रष्टाचारीहरुमाथि निर्मम कारवाही गर्दै आएको तथ्यांक छ । चीनमा संगीन अपराधमा संलग्नहरुमाथि मृत्युदण्डको व्यवस्थासमेत गरिएको छ ।
चिनियाँ राष्ट्रपति सी जिनफिङ नेपाल भ्रमणमा रहेको बेला गत वर्ष मात्रै २२ लाख चिनियाँ नेता, कार्यकर्ता र कम्युनिष्ट पार्टीसँग जोडिएका विभिन्न निकायका पदाधिकारीहरुमाथि भ्रष्टाचारको आरोपमा छानबिन भइरहेको समाचार सार्वजनिक भएको थियो ।
यता, नेपालमा पनि दुईतिहाइ मतसहित प्रधानमन्त्री बनेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारीलाई ऐयाँ, आच्छु पनि भन्न नपाउँदै ठाउँका ठाउँ कारवाही गर्ने प्रतिबद्धता जनाएका थिए । उनको यो प्रतिबद्धता कार्यान्वयन गर्न मन्त्रालयदेखि हरेक सरकारी कार्यालयमा ‘म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न दिन्न’ भन्ने महानवाणी टाँसियो ।
दुईतिहाइको शक्तिशाली प्रधानमन्त्रीले यसो भनेपछि पक्कै पनि देशमा सुशासन स्थापना हुने विश्वासमा आम जनता थिए । किनभने, नेपालको प्रमुख समस्या नै भ्रष्टाचार हो । भ्रष्टाचारका कारण मुलुक कंगाल बन्दै गएको छ । यदि, प्रधानमन्त्रीले भनेझैं भ्रष्टाचारीहरुमाथि ठाउँका ठाउँ कारवाही भएको भए अहिलेसम्म देशमा सुशासन स्थापित भइसक्ने थियो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माणमा आम जनता सहभागी बन्ने थिए ।
चिनियाँ राष्ट्रपति सीको पहिलो नेपाल भ्रमणको क्रममा होटल सोल्टीमा कम्युनिष्ट पार्टीका नेताहरुसँग भेट्दा राष्ट्रपति सी निकै उत्साहित थिए । प्रधानमन्त्री ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरुसँगको छोटो भेटमा राष्ट्रपति सीले चिनियाँ कम्युनिष्ट पार्टी एउटै क्रान्तिका कारण स्थापित भएको होइन, निरन्तर जनतासँगको सम्पर्क र चिनियाँ जनतासँगको कम्युनिष्ट पार्टीप्रतिको प्रतिबद्धताका कारण यो ठाउँसम्म आइपुगेको स्मरण गराएका थिए ।
उक्त भेटघाट कार्यक्रममा राष्ट्रपति सीले सुशासनलाई अत्यन्त जोड दिँदै कम्युनिष्ट पार्टीका नेता, कार्यकर्तामा शुद्ध आचरण र उच्च नैतिकता हुनुपर्ने कुरामा जोड दिएका थिए । चिनियाँ कम्युनिष्ट पार्टीमा आफ्नो अनुभव सुनाउँदै राष्ट्रपति सीले नेपाल कम्युनिष्ट पार्टीबीचको एकता र त्यसले प्राप्त गरेको उपलब्धि रक्षा गर्न सकियो भने मात्र आर्थिक विकासको बाटोमा सफलता हासिल गर्न सकिने बताएका थिए । भेटघाटको अन्त्यमा राष्ट्रपति सीले दुई कम्युनिष्ट पार्टीबीच सम्बन्ध सुदृढ गर्दै नेपालको पूर्वाधार विकासमा चीनले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
‘खानेबेला अभागीलाई रिस उठ्छ’ भनेझैँ प्रधानमन्त्री ओलीले न त, दुईतिहाइको कम्युनिष्ट सरकार जोगाउन सके, न त मुलुकमा सुशासन नै कायम गर्न सके । हुँदाहुँदा आफ्नै पार्टी पनि सम्हाल्न नसक्ने स्थितिमा पुगे । यो उनको नालायकी र असफलता हो । उनको यो असफलताले कम्युनिष्ट आन्दोलनमा ठूलो धक्का पुगेको छ । कम्युनिष्ट पार्टीको नेतामा हुनुपर्ने सामान्य नैतिकताको त कुरै छाडौं कम्युनिष्ट आचरण पनि उनमा देखिएन । उनको भ्रष्ट छवि र आचारणले सिंगो कम्युनिष्ट आन्दोलन लाजले शिर निहुँर्याउनुपर्ने अवस्थामा पुगेको छ ।
कोरोना महामारीले सिंगो देश आक्रान्त छ । दिनहुँ हजारौंका संख्यामा संक्रमितहरु बढिरहेका छन् । दिनको कम्तीमा दुई सय जनाले ज्यान गुमाएको कुरा स्वास्थ्य मन्त्रालयले बताउँदै आएको छ । देशभरिका अस्पतालमा अक्सिजन अभावले बिरामी अस्पतालको ढोकासम्म पुगेर पनि मृत्युवरण गर्न बाध्य छन् । यस्तो बेला तिनै तहका सरकार कोरोना रोकथाममा युद्धस्तरमा लागेको भए, जनताले पनि भन्ने थिए, धन्यवाद छ, कम्युनिष्ट सरकार ।
दुर्भाग्य, यस्तो बेलामा पनि सरकार स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गर्नमै व्यस्त छ । कमिशनका लागि कोरोना उपचारमा चाहिने खोप, अक्सिजनलगायत अन्य उपकरण खरिद गर्ने जिम्मा निजी क्षेत्रलाई लगाएका छन् । सामाजिक सञ्जाल सरकारको विरोध र श्रद्धाञ्जलिका समाचारले भरिएका छन् । सरकारले भने, काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर भनेझैं निर्वाचन घोषणा गरेको छ । जुन असंवैधानिक छ ।
राष्ट्रपति सीले भनेझैँ निरन्तर जनताको सम्पर्कमा रहेर जनताका लागि अहोरात्र खट्नुपर्ने बेला नेपालका कम्युनिष्टहरु विभाजनको रेखा कोर्दैछन् । जुन कुराले आम जनतामा ‘कम्युनिष्ट’ भन्नासाथ वितृष्णा उत्पन्न भएको छ । आफ्नै पार्टीका नेताहरुलाई पाखा लगाएर प्रतिगामी र विखण्डनकारीहरुसँग सरकार जोगाउन हातेमालो गर्दैछन् । जननेता मदन भण्डारीको शब्दमा यो विसर्जनवादको संकेत हो ।
वैचारिक विचलनले नै फलामे अनुशासन भएको कम्युनिष्ट आन्दोलनको पतन निम्त्याउँछ भन्ने कुराको पछिल्लो उदाहरण नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विघटन हो । जसमा अध्यक्ष ओली दोषी र जिम्मेवार छन् । जननेता मदन भण्डारीले पाँचौँ महाधिवेशनमा ‘जबज’लाई माक्र्सवादको सिर्जनात्मक प्रयोग भनेका थिए ।
दुईतिहाइको कम्युनिष्ट सरकारलाई माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्ने अवसर थियो । किनभने, एमाले र माओवादी एकतापछि ओली संसद्को करिब दुईतिहाइ बहुमतमा थिए । त्यो बहुमत जोगाउन ओली असफल भएसँगै ‘जबज’ ओलीको ओठेभक्ति सावित मात्र भएको छैन, ओलीको हरेक प्रतिगामी कदमले ‘जबज’लाई विसर्जनतर्फ धकेल्दैछ ।
मार्क्सवादी विश्लेषकहरुले यस घटनाक्रमको अध्ययन विश्लेषण गरेर यसको निष्कर्ष निकाल्नुपर्छ । अन्यथा, माक्र्सवाद, लेनिनवाद र जबजको खोल ओढेर कम्युनिष्ट आन्दोलनभित्र अर्को दक्षिणपन्थी अवसरवादीको जन्म हुनेछ ।