Logo
Logo

यो वर्ष बाँचौं, अर्को वर्ष नाचौँ


नवीन राई

2.9k
Shares

मरिन्छ कि बाँचिन्छ,
बाँचुन्जेल साकेला सिली नाचिन्छ,
सोई सोई ला हो हुर्रा हा… हा…
सोई ढोले सोई, अर्को ढोले खोई ?
उभांैली र उधौलीको याममा किराती अर्थात राई वस्तीहरू यस्तै भाकाले गुन्जायमान हुन्छन् । तर, यो वर्ष कोरोना महामारीका कारण वस्तीहरु विगत झै गुन्जले छैनन् । यस वर्षको उभौली पनि सुनसान नै हुनेछ । सुरुमा उभौली र उधौलीबारे केही चार्चा गरौं । त्यसपछि उभौली र उधौलीसँग जोडिएका विविध आयामहरुको चर्चा गरौंला ।

उभौली- गर्मी बढ्दै गएपछि खोलाका माछा र वन्यजन्तु शीतल खोज्दै उभो अर्थात उकालो लाग्छन् । माछा र वन्यजन्तु उकोलो लागेको यामलाई नै उभौली भनिएको हो । यो याममा छरपख सकिएको हुन्छ । अन्नबाली लगाइसकिएको हुन्छ । यो याम बैशाख आसपास पर्छ । उभौली याममा अन्नबाली लगाएपछि किरात समुदायले अन्नबाली राम्रो होस् ‘पाकेपछि तिमीलाई पनि भाग दिन्छौं है’ भनेर प्रकृतिसँग भाकल गरेका हुन्छन् । सोही भाकलअनुसार अन्नबाली पाकेपछि उधौली याममा प्रकृतिलाई अन्नबाली चढाउने गरिन्छ ।

उधौली- लेकमा चिसो सुरु भएपछि खोलाका माछा र वन्यजन्तु बेँसी अर्थात (उँधो,ओरालो) लाग्छन्, त्यो यामलाई उधौली भन्ने गरिन्छ । त्यो याम मंसिर आसपास पर्छ । यो बेला अन्नबाली भित्रिएको हुन्छ । अन्नबाली लगाउने बेला अर्थात उभौलीमा प्रकृतिलाई गरिएको भाकलअनुसार अन्नबाली पाकेको यो याममा गरिने उधौली पूजामार्फत प्रकृतिलाई अन्नको भाग बुझाइन्छ । साथै, अन्नबाली राम्रो भएकोमा प्रकृतिलाई धन्य प्रकट समेत गरिन्छ ।

उधौली र उधौलीबारे अनेक आख्यान छन् । त्यसको व्याख्या आगामी दिनमा गरिनेनै छ । आजलाई उधौली र उभौलीबारे यति नै । चर्चा गरौं, उभौली र उधौलीका विविध आयामहरु…

मान्छेलाई खेती गर्ने ठाउँ दिने प्रकृति र खेती गर्न सिकाउने पूर्वजको सम्मानस्वरुप किरातीहरूले उधौली र उभौलीमा भूमिपूजा गर्छन् । यो पर्व पृथ्वीमा ‘कृषियुग’ सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ । किरात मध्ये राई समुदाय उधौली र उभौली सुम्निमाले सृष्टिको सुरुवात गरेको समयलाई मान्दछन् ।

किरातीहरूले प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमादेखि १५ दिनसम्म उभौली मनाउने गर्छन् । खेतीपाती गर्ने उपयुक्त याम भएकाले किरातीहरूले उभौलीमा बालीनाली राम्रो होस्, सबैमा सुख, शान्ति, सुस्वास्थ्य रहोस् र प्राकृतिक प्रकोप तथा विपत्तिहरू नआउन् भनेर साकेला नाच्दै प्रकृतिको पूजा गर्छन् ।

उभौली र उधौलीसँग जोडिएका अनेक आयामहरु छन् । विशेष गरेर उधौलीको रौधक धेरै हुन्छ । किनकी उधौली उमंगको याम हो । बर्खा सकिएर भर्खरै सुरु भएको हिउँद साच्चिकै रोमान्चक हुन्छ । नीलो आकाश र हरियो धर्ती, झुलेका पँहेला धान र अन्नबाली भित्रन थालेपछि उल्लास साच्चिकै रोमान्तक हुन्छ । सबै कुराको सहजताको आधारमा यो याममा तन्नेरी र तरुनीबीच भेटघाट हुने, आपसी चिनाजानी गर्ने, मनका कुराहरू साटासाट गर्ने, मन परापर भएमा उमेर पुगेका युवा युवतबीच विवाहसम्म पुग्ने याम पनि हो ।

सुरुकै प्रसंग जोडौ– यो याममा सांस्कृति गतिविधि धेरै हुन्छन् । किरात राई समुदायमा ‘साकेला’ बहुचर्चित र लोकप्रिय सांस्कृतिक नृत्य हो । उभौली र उधौली दुवै याममा साकेलाका सिलिहरु चाचिन्छ ।

पुरुष कालो कोट, दौरा–सुरूवाल, कोटमा बुकी फूल सिउरिएर, खुकुरी भिरेर, फेटामा ठाँटिएर ‘हुर्रा हा… हा…’ भाकामा नाच्छन् । महिला छिटको गुन्यू, मखमलको चोली, छातीमा हारी, कम्मरमा पटुकी कसेर पहेँलपुर गरगहनामा सजिएर ताल मिलाउँदै गोलबन्द भएर सिलि नाच्छन् ।

हातमा चौरीको पुच्छर, सिल्लिमो, पोमी, चमर, सिन्कौली सेउली, ढोल, झ्याम्टा, बिनायो लिएर ढोल–झ्याम्टाको तालमा सामूहिक रुपमा प्रकृतिका अनेन चालहरु साकेलाका सिलिहरुमा नचिन्छ । हातखुट्टाको हाउभाउले पंक्तिबद्ध जीवजनावरको नक्कल गर्ने गरिन्छ । सिलि नाच्दा प्रस्तुत गर्ने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएको जस्ता कृषि कार्य प्रदर्शन गरिन्छ ।

नृत्यमा सिलीमोपा (सिली प्रमुख), सिमीमोमा र मूल ढोलेको मुख्य भूमिका र महत्व रहन्छ । यी प्रमुखहरूले सिली टिप्नु र ढोल बजाउन गल्ती गरेमा स्वयं सिलीमोपालाई अनिष्ट (खतरा) हुने र गाउँमा अशुभ हुने विश्वास गरिन्छ । साकेलामा नाचिने सिलीहरुले फगत नृत्य मनोरञ्जन मात्र नभएर यसले मानव विकासको इतिहास र सभ्यता बोकेको छ ।

अहिले उभौली अर्थात् ‘सोई सोई ला हो हुर्रा हा… हा…’ को भाका हालेर सिली नाचिने सिजन । ‘हुर्रा हा… हा…’ भाकाले को तन्नेरी ? को युवा ? को बच्चा ? अनि को बुढा ? केही पनि भन्दैन, सबैलाई छोएकै हुन्छ ।

विगतका वर्षहरूमा यतिबेला काठमाडौं उपत्यका केही ठाउँ र पूर्वको रौनक बेग्लै हुन्थ्यो । तर, अहिले कोरोनाका कारणले त्यो रौनक बन्न सकेन । वैशाखे पूर्णिमा सुरु भइसक्दा पनि ‘सोई सोई ला हो हुर्रा हा… हा…’ को भाका हालेको गीत कतै गुन्जायमान भएको छैन । संसारभरि कोभिड–१९ को सन्त्रास छाएको हुँदा नेपालका अधिकांस जिल्लामा सरकारले यसको सङ्क्रमण बढ्न नदिन निषेधाज्ञा जारी गरेको छ । त्यसैले यो वैशाखे पूर्णिमा सुनसान छ ।

विगत यस्तो थियो–
‘मरिन्छ कि बाँचिन्छ,
बाँचुन्जेल साकेला सिली नाचिन्छ,
सोई सोई ला हो हुर्रा हा… हा’

यस वर्ष चाहिँ यस्तो भयो–
‘मरिन्छ कि बाँचिन्छ,
बाँचे अर्को वर्ष नाचिन्छ,
सोई सोई ला हो हुर्रा हा… हा’

यसपाली ‘हुर्रा हा… हा’ भाका केवल घरभित्रै वा मनभित्रै गुनगुनाएर बस्नुपर्ने स्थिति आएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारणले अहिले सकेला नाँच स्थगित गरिएको छ । किरात समुदायका राई, लिम्बू, याक्खा, सुनुवारलगायत जातिले घर–घरमा पूजामात्र गरेर उभौली मनाउनु परेको छ ।

ढोल बजाउँदै छमछमी नाचेको सम्झनुबाहेक केही गर्ने स्थिति छैन । सामूहिक जमघट हुन नसकिने यो अवस्थामा सयौँ जना हारमा हार मिलाएर हातमा चमार, शिर्लिङ लिँदै ढोलझ्याम्टाको तालमा नाचिने साकेला सम्भव हुने कुरै भएन ।

किरात राईहरुको सामाजिक संस्थाहरूले यसपटक सामूहिक साकेला ननाच्ने घोषणा गरिसकेका छन् । कोभिड महामारी नहुँदो हो त यतिबेला पूर्वी पहाडी जिल्लाको रौनक बेग्लै हुन्थ्यो । त्यहाँका वस्तीहरू दिनदिनै साकेला नाचिरहेका हुन्थ्ये । प्रत्येक घरमा आलैपालो साकेला नाचिन्थ्यो । तर कोभिडको कारण यो वर्ष त्यस्ता दृश्यहरूको स्मरण गर्दै बस्नुको विकल्प रहेन ।

उभौली किरातीहरूको खुसी, हर्ष, उल्लास, शुभेच्छा र शुभकामना आदानप्रदान गर्ने पर्व पनि हो । तर, यो वर्ष ‘हुर्रा…हा…’ को खुसीभन्दा पनि पीडा र दुःखबोध हुँदै गराइरहेको छ । अहिले कोरोना महामारीले देश आक्रान्त छ । पाँच लाखभन्दा बढी मानिसहरू संक्रमित भइसकेका छन् भने पाँच हजार बढीले मृत्युवरण गरिसकेका छन् । देशका सबै अस्पताल संक्रमितले भरिभराउ छ । संक्रमित अस्पतालकोमा छटपाइरहेका छन् । आफन्तको रुवाबासी छ । कति आफ्नै घरको आइसोलेसनमा बसेका छन् । कतिले भोक थाम्नै नसकी आत्महत्या गर्न पुगेका छन् ।

यस्तो संकटको घडीमा ‘हुर्रा…हा…’को तालमा ताल मिलाउँदै नाच्न सकिँदैन, नाच्न पनि हुँदैन । अहिले ‘हुर्रा…हा…’ तालमा ताल मिलाउँदै नाच्ने भन्दा पनि कोरोनाबाट कसरी बच्ने भनेर सोच्नुपर्ने अवस्था छ । भनिन्छ, मर्नुभन्दा बैलाउनु जाति । अहिले अवस्था यस्तै छ ।

यो वर्ष सामाजिक र भौतिक दूरी कायम राखे, भेटघाट र जमघटबाट टाढै रहे, सुरक्षित र स्वस्थ जीवन अपनाए आउँदो वर्षहरूमा ‘हुर्रा…हा…’को तालमा ताल मिलाउँदै पक्कै नाच्ने पाउनेछौँ ।

हामीले बनाएको रितिरिवाज हामीभन्दा ठूलो पक्कै होइन । धर्म र सांस्कृति जोगाउने चक्करमा हामीले यो महामारीलाई भुल्न मिल्दैन । हामी बाँचे पो हाम्रो सस्कृति बाँच्छ । यसपाली बाँचियो भने अर्का वर्ष नाचौंला ! जीवन नरहे धर्म, संस्कृति, परम्परा, पर्व पनि रहँदै । हामी बाँचे त हाम्रो संस्कृति छँदैछ, अर्का साल राम्रोसँग मनाउँला नि !

नेपाली भाषा साहित्य, कला र संस्कृतिका क्षेत्रमा पहिलेदेखि दुईथरी मान्यता छ । एक थरीको विचारमा भाषा बाँचे जनता बाँच्छ । अर्को थरीमा ‘जनता बाँचे भाषा बाँच्छ’ भन्छ । तर, यस्तो संकटको बेला ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने विचार उपयुक्त हुन्छ ।

हरेक समुदायको भाषा, संस्कृति, परम्पराको जोगाउनु पर्छ । तर, हामी बाँचे सांस्कृतिक अभ्यासहरूले निरन्तरता पाउने हो । संस्कृति र परम्परा धान्नुको अर्थ हिजो जसरी मनाइन्थ्यो, आज पनि त्यसरी नै मनाउनुपर्छ भन्ने होइन । महामारीसँग जुध्न आवश्यक मापदण्ड अपनाउनु पनि एउटा संस्कृति नै हो ।

प्रतिक्रिया दिनुहोस्