भक्तपुर । होली पूर्णिमाका दिन आज प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योग मन्त्री महेश बस्नेतले सूर्यविनायक नगरपालिका क्षेत्रभित्र दुई सडकको शिलान्यास गर्नुभएको छ ।
नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका बस्नेतले सूर्यविनायक नगरपालिका–१ सिरुटार, वडा नं ३ बालकोट र वडा नं ४ दधिकोट जोड्ने सूर्यविनायकको ‘दक्षिणबाराही मन्दिर, काठमाडौँ स्कूल अफ ल क्याम्पस हुँदै पानीट्याङ्की सिरुटार सडक र कटुञ्जे चुनदेवी तीनधारा सडकको शिलान्यास गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “यस वर्ष बालकोटमा मात्रै रु पाँच करोड बजेट रहेको पाँच सडक र साना १३ सडक निर्माण भइरहेका छन्, यस क्षेत्रमा ढलका लागि नियमित बजेटभन्दा थप रु तीन करोड ८२ लाख निकासा भएको छ ।”
कार्यक्रममा प्रदेश नं ३ का प्रदेशसभा सदस्य शशीजङ्ग थापाले विकास तीव्रगतिमा अगाडि बढेको उल्लेख गर्दै आगामी वैशाखदेखि कलङ्की हुँदै बालकोट, चित्रपुर हँुदै तर्खगालसम्म बस सेवा सञ्चालन गर्ने तयारी गरिएको बताउनुभयो । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बास्तोलाले यो वर्ष विकास र समृद्धिको वर्ष भएकाले उपयुक्त योजनालाई बजेट विनियोजन गरिएको बताउनुभयो ।
प्रदेश नं ३ पूर्वाधार विकास कार्यालय, धुलिखेलका प्रमुख लोकनाथ रेग्मीले रु पाँच करोडमा निर्माण शुरु हुन लागेको उक्त सडक आठ मिटरको चौडाइ र एक हजार ३०० लम्बाइ रहेको उल्लेख गर्दै आगामी असारसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुभयो ।
यसैगरी आजै सूर्यविनायक नगरपालिकाको रु एक करोड ४० लाखको लागतमा अरनिको राजमार्गखण्डमा जोडिएको फुटपाथ र ड्रेनसहित आठ मिटर चौडाइ रहने वडा नं ५ कटुञ्जेस्थित चुनदेवी तीनधारा सडक विस्तारको समेत सांसद बस्नेतले शिलान्यास गर्नुभएको छ ।
कार्यक्रममा नगरर प्रमुख वासुदेव थापाले गत वर्ष नगरपालिकाले टुक्रे योजना बजेट विनियोजन गरे पनि यस वर्ष भने ठूला योजनाका लागि बजेट विनियोजन गरेको बताउनुभयो । प्रत्येक वडामा रु एक करोडको एउटै सडक योजना र अन्य ठूला योजना तीव्र गतिमा अगाडि बढेको जानकारी गराउँदै उहाँले आगामी तीन वर्षमा नगरपालिकाले विकासमा काचुली फेर्ने बताउनुभयो । (रासस)