काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरूमध्ये १९ वटामा आज बिहीबारबाट सुनुवाइ हुँदै छ । तर संवैधानिक बेन्चमा सुनुवाइको माग गरिएका बाँकी ११ रिटको सुनुवाइ भने शुक्रबार हुने भएको छ ।
सरकारको सिफारिसमा जेठ ७ गते मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको हो । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरी प्रतिनिधिसभा विघटन गरिएको भन्दै परेको रिटमाथि आजदेखि सुनुवाइ सुरु गर्ने भएको हो ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलसहित १४६ सांसदले पनि प्रतिनिधिसभा पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
रिटमा प्रतिनिधिसभा पुनःस्थापना गरी नेपालको संविधानको धारा ७६ (५) बमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरिएको छ । बाँकी रिट निवेदकले चाहिँ प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएकाले पुनःस्थापनाको माग गरेका छन् ।
यस्तै प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिनुपर्नेमा पनि सर्वोच्चमा रिट परेका छन् । प्रतिनिधि सभा पुनर्स्थापना भए पनि ओलीलाई नै निरन्तरता दिनुपर्ने मागसहित ४ रिट परेका थिए ।