Logo
Logo

जसपा संकटः विभाजन टार्न कठिन


दृष्टि संवाददाता

441
Shares


काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गत ५ पुसमा पहिलोपटक गरेको संसद् विघटनको विषयमा दुई धार बनेको जनता समाजवादी पार्टी (जसपा) विभाजनको चरणमा प्रवेश गरेको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले एक–अर्कालाई स्पष्टीकरणपत्र पठाउँदै कारबाहीको तयारी गरेपछि जसपाको संकट विभाजनउन्मुख बनेको हो ।

्मंगलबार संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चारजनालाई कारबाहीको चेतावनीसहित स्पष्टीकरणपत्र पठायो । त्यसको केही घन्टा नबित्दै ठाकुरले पनि यादवलाई स्पष्टीकरण पत्र पठाएका छन् । दुवै पक्षले एक–अर्कालाई तीन दिनको समयावधि दिएर स्पष्टीकरण सोधेका छन् ।

जसपाको केन्द्रमा जारी विवाद बुधबारसम्म तल्लो तहसम्म पुगिसकेको छ । प्रदेश २ मा कार्यकर्ताले एक–अर्को पक्षका नेताहरूको पुत्ला दहन गरेका छन् । यससँगै एकताका लागि प्रयासरत जसपाको दोस्रो तहका नेताहरूसमेत विभाजनलाई रोक्न नसकिने निष्कर्षमा पुगेका छन् ।

अध्यक्ष ठाकुर पक्षका नेता मनीष सुमनले पार्टी एकता कायम रहने सम्भावना लगभग सकिँदै गएको बताए । ‘पार्टी एकता कायम रहने सम्भावना लगभग टाढिँदै गएको छ । आफू–आफू मात्रै बसेर निर्णय गरेर फरक–फरक बाटो हिँड्न थालेपछि समस्या उत्पन्न भएको छ,’ नेता सुमनले भने, ‘तैपनि कार्यकर्ता र शुभचिन्तकको चाहना भने पार्टी एक बनाउनुपर्छ भन्ने नै छ ।’ उनले सोधिएका स्पष्टीकरण फिर्ता भए पुनः पार्टी एकीकरणको प्रस्थानबिन्दु हुन सक्ने बताए ।

पछिल्लो राजनीतिक घटनाक्रमपछि पार्टी निर्णयविपरीत सरकारमा जाने र ओलीलाई समर्थन गरेको भन्दै यादव पक्षको ८ जेठमा बसेको कार्यकारिणी बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी सदस्यहरू सर्वेन्द्रनाथ शुक्ल तथा लक्ष्मणलाल कर्णलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

बैठकको मिति ४ जेठमा अध्यक्षद्वय ठाकुर र यादव बसेर तय गरेका थिए । ठाकुर र यादवले छलफलबाट अहिलेको अवस्थामा कुनै सरकारमा नजाने, आफ्नै नेतृत्व वा राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्थामा मात्रै अघि सर्ने सहमति गरेर हस्ताक्षरसहित संयुक्त विज्ञप्ति सार्वजनिक गरेका थिए । तर, उक्त सहमति दुई दिन पनि टिकेन ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक ७ जेठमा संसद् विघटन गरेसँगै मत्थर हुन लागेको विवाद पुनः उत्कर्षमा पुग्यो । त्यसपछि ठाकुर र महतोले तुरुन्तै बालुवाटार पुगेर ओलीलाई भेटेर बधाई मात्रै दिएनन् आफू सरकारमा जाने र कतिवटा मन्त्रालय पाउने भन्ने पनि निश्चित गरे । यो निर्णयबाटै यादव पक्ष चिढिइसकेको थियो । त्यसपछि जब ठाकुरले पहिल्यै बोलाइसकेको ८ र ९ जेठको बैठक नबस्ने भन्दै एक्लै विज्ञप्ति जारी गरे, त्यसले विवाद पुनः जहाँको त्यहीँ पुर्यायो ।

यादव पक्षले भने केन्द्रीय कार्यकारिणीको बैठक बसेर ठाकुरसहित चारजनालाई स्पष्टीकरण सोध्ने निर्णय ग¥यो । सोहीअनुसार जसपाको पार्टी कार्यालय सचिवले मंगलबार इमेलमार्फत तीन दिनको म्यादसहित छुट्टाछुट्टै स्पष्टीकरणपत्र पठाए । यद्यपि, त्यसको जवाफ आउने अपेक्षा यादव पक्षले गरेको थिएन । नभन्दै त्यसको केही घन्टामा ठाकुरले नै यादवलाई सातबुँदे स्पष्टीकरणपत्र पठाएर आफ्ना निर्णयबाट ‘ब्याक’ नहुने प्रस्ट संकेत गरे ।, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्