Logo
Logo

प्रहरीलाई कोभिसिल्डको दोस्रो डोज, तल्लो तहलाई विभेद भएको गुनासो


दृष्टि संवाददाता

8.5k
Shares


काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि खोपको महत्व बढ्दै गएको छ । सरकारले बाँकी रहेको खोप लगाउन सुरु गरेको छ ।
कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका प्रहरी कर्मचारीहरुमध्ये कोभिसिल्ड पहिलो डोज खोप लगाएका प्रहरी कर्मचारीहरुलाई दोस्रो डोज खोप लगाउन थालिएको छ ।

अत्यन्त जोखिमपूर्ण रुपमा ड्युटीमा खटिने प्रहरी कर्मचारीहरुलाई खोप न्यून भइरहेको अवस्थालाई मध्यनजर गरी प्रहरी प्रधान कार्यालयको विशेष पहलमा सीमित कोभिसिल्ड खोप निकासा गरी स्वास्थ्य मापदण्ड पूर्ण पालनाका साथ आलोपालो रुपमा बुधबार, बिहीबार र शुक्रबार खोप लगाउने व्यवस्था गरिएको हो ।
सो क्रममा महानगरीय सशस्त्र प्रहरी गण नं. २ महाराजगंजमा बुधबार र बिहीबार गरी प्रहरी प्रधान कार्यालय तथा अन्तर्गतमा कार्यरत जम्मा १ हजार ३ सय ११ जनालाई खोप लगाइएको छ । यसैगरी महानगरीय ट्राफिक प्रहरी महाशाखामा ४ सय ३४ जना, महानगरीय प्रहरी परिसर काठमाडौं तथा मातहत वृत्तहरु समेतमा १ हजार ४८ जना, महानगरीय प्रहरी परिसर ललितपुरमा २ सय ५० जना र महानगरीय प्रहरी परिसर भक्तपुरमा ३ सय ५० जनालाई कोभिसिल्ड दोस्रो डोज खोप लगाइएको छ । साथै शुक्रबार समेत थप कर्मचारीलाई खोप लगाइने छ । नेपाल प्रहरीमा देशभर कार्यरत प्रहरी कर्मचारीहरुमध्ये हालसम्म ३७ हजार ९ सय ६१ जनाले पहिलो चरणमा र २४ हजार १ सय ६० जनाले दोस्रो चरणमा खोप लगाएका छन् । धेरै फ्रन्टलाइनरले अझै खोप पाएका छैनन् ।


यता तल्लो तहका प्रहरीलाई खोपमा विभेद भएको गुनासो सुनिएको छ । अपराध महाशाखाका एक प्रहरी भन्छन्,‘सियूसीमा खोप लगाउने मिति भनेर म्यासेज आउँछ, गयो तिमीहरुलाई यहाँ होइन भनेर पठाइन्छ ।’ उच्च तहका प्रहरीले परिवारसहित खोप लगाएको तर तल्लो तहकाले पर्याप्त मात्रामा नपाएको गुनासो गरेका छन् ।

जनताको ज्यान जोगाउन खटिएका कतिपय सुरक्षाकर्मीले कोभिडकै कारण ज्यान गुमाउन थालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्