मकवानपुर । वागमती प्रदेश सभाको बजेट अधिवेशन जेठ १६ गतेदेखि सञ्चालन गर्न दलहरु सहमत भएका छन् । बिहीबार प्रदेशको प्रदेश सुशासन केन्द्र जाउलाखेलमा बसेको सर्वदलीय बैठकले जेठ १६ गतेदेखि प्रदेश सभाको अधिवेशन शुरु गर्ने विषयमा सहमति गरेको हो ।
यस्तै, बैठकले प्रदेश सभा कसरी चलाउने तथा कोभिड – १९ को महामारीका बिचमा कसरी सहज ढंगले चलाउने भन्ने विषयमा छलफल गरेको थियो ।
वागमती प्रदेश सरकारले प्रदेश स्तरीय सर्वदलीय बैठक बोलाएर सरकारलाई सहयोग गर्न आग्रह गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सदन र सरकारको काममा सहयोग माग्न भनी बोलाएको बैठकमा उल्टै सरकारमाथि चर्को आलोचना भएको थियो ।
माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले पूर्वाधारविना विद्युतीय सवारी खरिद गर्ने कुरामा सहमत नभएसम्म सदन चल्न नदिने बताएसँगै अन्य दलले पनि समर्थन जनाएका थिए ।