Logo
Logo

अक्सिजन अभावले सुत्केरीसहित ८ जनाको मृत्यु


दृष्टि संवाददाता

1.6k
Shares

कास्की । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन अभावमा गएराति ८ जना बिरामीको ज्यान गएको छ । मृत्यु हुनेमा एक जना सुत्केरी महिलासमेत रहेकी छन् ।

अस्पतालका कोभिड फोकल पर्सन डा. शरद बरालका अनुसार भर्ना भएका कोरोना संक्रमितकोे मृत्यु भएको हो । ‘हाई फ्लोमा अक्सिजन दिनुपर्ने अवस्था थियो’ उनले भने, ‘हिजो उद्योगबाट असिक्जन आउन आधा घण्टा ढिला भयो, त्यसैले हाई फ्लोमा असिक्जन दिन सकिएन । प्रतिमिनेट ६० देखि ८० लिटर अक्सिजन चाहिनेमा त्यो उपलब्ध नभएकाले ८ जनाको दुःखद निधन हुन पुग्यो ।’

मृत्यु हुनेहरुमा तनहुँका ३, कास्कीका २, पर्वत, म्याग्दी र स्याङ्जाका १–१ जना रहेका छन् । मृत्यु हुनेमा एक जना डायलसिस गराइरहेका मिर्गौला रोगी, कलेजोसम्बन्धी रोग भएका एक जना र मधुमेहका एक जना रोगी भएको बरालले बताए ।

अस्पतालमा पोखरा अक्सिजन ग्यास प्रालिबाट आपूर्ति हुँदै आएको थियो । तर, बिहीबार दिउँसो आधा घण्टा विद्युत् आपूर्ति बन्द भएपछि झन्डै ४५ मिनेट उत्पादन बन्द भएको उद्योगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्