Logo
Logo

कोरोना प्रभावित करदातालाई दुई अर्ब बढी कर छुट


दृष्टि संवाददाता

693
Shares

काठमाडौं । कोरोना महामारीबाट प्रभावित सवा ५ लाख करदाताले दुई अर्ब १९ करोड रुपैयाँ कर छुट पाएका छन् । अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण अनुसार आव २०७६/७७ मा लाग्ने आयकरमा २ अर्ब १९ करोड ६२ लाख रुपैयाँ कर छुट पाएका हुन् ।

यो कर छुटको लाभ लिने करदाताको संख्या ५ लाख २० हजार ३ सय ३९ रहेको मन्त्रालयको तथ्याङ्क छ । मन्त्रालयका अनुसार महामारीबाट प्रभावित सामाजिक सुरक्षा कोषमा आवद्ध प्रतिष्ठानमा कार्यरत श्रमिकको आव २०७६/७७ को अन्तिम चार महिनाको श्रमिक तथा रोजगारदाताको तर्फबाट जम्मा गर्नुपर्ने रकम १ अर्ब ३ करोड २४ लाख ६ हजार रुपैयाँ समेत नेपाल सरकारले सामाजिक सुरक्षा कोषमा भुक्तानी गरेको तथ्याङ्क सरकारले सार्वजनिक गरेको छ ।

वार्षिक २० लाखसम्मको कारोबार वा दुई लाखसम्म आय हुने करदातालाई आय वर्ष २०७६/७७ मा लाग्ने आयकरमा ७५ प्रतिशत छुटको व्यवस्था गरिएकोमा ४ लाख ४८ हजार ७ सय ५३ करदाताले रु.१ अर्ब ५२ करोड ३८ लाख कर छुट सुविधा प्राप्त गरेका छन् ।

वाषिर्क २० लाख देखि ५० लाख रुपैंयासम्मको कारोबार भएका कारोबारको आधारमा कर बुझाउने करदाता लाई आय वर्ष २०७६/७७ मा लाग्ने करमा ५० प्रतिशत आयकर छुटको व्यवस्था गरिएकोमा जम्मा २० हजार ६० करदाताले रु. २१ करोड १८ लाख कर छुट सुविधा प्राप्त गरेका छन् ।

लघुउद्यमलाई आयकर छुटको अवधि दुई वर्ष थप गरी सात वर्ष र महिला उच्चमीद्वारा सञ्चालित लघु उद्यमलाई तीन वर्ष थप गरी १० वर्ष पुर्याइएको छ । लघु बिमामा लाग्दै आएको मूल्य अभिवृद्धि कर हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्