काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली मुलुकलाई दक्षिणपन्थी भासतर्फ लैजान उद्यत रहेको बताएका छन् । गणतन्त्र दिवसमा शुभकामना सन्देश जारी गर्दै ओलीले प्रतिनिधिसभा विघटन गरेर संवैधानिक ’कू’ गरी मुलुकलाई प्रतिगमनमा धकेलेको नेता खनालले बताए ।
इतिहासमा राष्ट्रघाती र प्रतिगमनकारी कदम चालेर सिंगो कम्युनिष्ट आन्दोलनलाई बिसर्जन गर्ने पात्रका रुपमा ओलीले आफूलाई स्थापित गरेको नेता खनालको भनाई छ । नेता खनालले ओलीले आफूहरु जस्ता हजारौ लाखौं कार्यकर्ताको बलिदानिबाट बनेको पार्टीलाई दलाल पुँजीपति वर्गको पार्टी जस्तो बनाउँदै विचौलिया, दलाल, माफिया र भ्रष्टाचारीहरुलाई पक्षपोषण गरिरहेको आरोप लगाए । ओलीले निष्ठावान, त्यागी र इमान्दार कार्यकर्ता पंक्तिमाथि कारबाहीको डण्डा चलाउँदै निरंकुश तानाशाही प्रवृति देखाइरहेको उनको भनाइ छ ।
पार्टीभित्र उत्पन्न दक्षिणपन्थी अवसरवादी सोंच, चिन्तन र गतिविधिका विरुद्ध दृढता पूर्वक वैचारिक संघर्ष गर्दै पार्टीलाई क्रान्तिकारी पार्टीको रुपमा निर्माण गर्नुपर्ने नेता खनालले बताए । राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, अखण्डता र स्वाभिमानलाई अक्षुण्ण राख्न, राष्ट्रियताका पक्षमा सिङ्गो देशलाई एकताबद्ध बनाउन प्रतिगमन बिरुद्ध सबै देशभक्त लोकतान्त्रिक शक्तिहरु एक हुनुपर्ने खनालको जोड छ ।