Logo
Logo

इन्सपेक्टरले घुस लिएर चोरीका अभियुक्त छाडेको आरोप


दृष्टि संवाददाता

148.7k
Shares


बारा । प्रहरी निरीक्षकमाथि घुस लिएर चोरीका अभियुक्त छाडेको आरोप लागेको छ । बाराको इलाका प्रहरी कार्यालय प्रसौनी, नौतन गण्डकका प्रहरी निरीक्षक विन्देश्वर यादवले चोरीका अभियुक्तलाई मुद्दा नचलाई छाडेका हुन् ।


प्लाष्टिकको बोरा उत्पादन गर्ने बारा, प्रसौनी गापा ६ भलुहीस्थित जय पशुपतिनाथ इम्पेक्स प्रालिमामा चोरी गर्नेलाई प्रहरीले छाडेको हो । गत चैत १४ गते राति त्यहाँ भएको थियो। चोरीमा संलग्न पाँचमध्ये ४ जना गत जेठ ७ गते पक्राउ परेका थिए। पक्राउ पर्नेमा बारा, परवानीपुर गापा–२ मुसहरीका २४ वर्षीय सन्नीकुमार मण्डल, सोही स्थानका २२ वर्षीय मुनिल कुमार र २४ वर्षीय विक्की प्रसाद, वीरगंज १० रानीघाटका रामजीप्रसाद चौहान र भारत, उत्तरप्रदेश बनारसका ३५ वर्षीय शुभम पाण्डे रहेका थिए। चोरीका मुख्य नाइके अझै फरार नै छन् । करिब १२ लाख मूल्य बराबरको बोरा उत्पादन गर्ने कच्चा पदार्थ प्लाष्टिक दाना उद्योगकै मजदुर र दुई जना ट्रयाक्टर चालकको सहायतामा चोरी गरी वीरगंजकै बजारमा बेचिएको थियो ।
सर्लाही निवासी तुलसी रौनियार सञ्चालक रहेको उद्योगमा चोरीको समयमा उद्योग व्यवस्थपन पक्षले सोही बेला प्रसौनी प्रहरीमा निवेदन दिएपछि अनुसन्धान शुरु भएको थियो। र, गत साता प्रहरीले चोर समूहका सन्नीलाई वीरगंज १५ प्रतिमा चोकको एक व्यवसायीलाई बेचिरहेको अवस्थामा पक्राउ परेपछि चोरीको रहस्य खुलेको हो।

चोरी गिरोहका ५ जनामध्ये उद्योगमा काम गर्ने दुई जना चालक र एक जना मजदुर पनि संलग्न रहेका छन्। उनीहरुलाई ६ दिन थुनामा राखेर छाडिएको छ । यसमा आर्थिक लेनदेन भएको स्रोत बताउँछ ।
ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक यादवले पीडितले जाहेरी नदिँदा व्यवहारिक रुपमै विवाद मिलाउन भनेपछि छाडिएको बताए । जबकी साहु रौनियारले घटना भएकै बेला लिखित किटानी जाहेरी दिएको बताउँछन्। जाहेरी नदिए पनि चोरी जस्तो मुद्दामा मिलापत्र गर्न सक्ने प्रावधान छैन । जसकारण लेनदेन प्रष्ट हुन्छ । यस विषयमा आफुले छानबिन गर्ने बाराका एसपी दिपेन्द्र शाहीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्