काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषित निर्वाचन अगाडि सबै नेपालीलाई कोभिडविरुद्धको खोप दिइसक्ने बताएका छन् । पहिलो डोज लगाएकाहरुले दोस्रो डोजसमेत पाउने अनिश्चित भइरहेको अवस्थामा प्रधानमन्त्री ओलीले यस्तो दावी गरेका हुन् ।
शनिबार १४औँ गणतन्त्र दिवशको अवसरमा राष्ट्रका नाममा व्यक्त सम्बोधनमा प्रधानमन्त्री ओलीले कोभिड–१९ का अधिकांश संक्रमित बिरामीहरुकोे उपचार निःशुल्क गर्ने गर्दै आएको समेत दावी गरेका छन् ।
सम्बोधनका क्रममा भने, ‘हामीले अधिकांश संक्रमित बिरामीको उपचार निःशुल्क गर्ने गरिरहेका छौँ । निःशुल्क खोप अभियानलाई पनि निरन्तरता दिइरहेका छौँ जबकि कतिपय सम्पन्न र विकसित देशहरुले पनि यस किसिमले उपचार निःशुल्क गर्ने सेवा उपलब्ध गराएका छैनन् । हामीले त आगामी निर्वाचनभन्दा अगाडि सबै जनतालाई खोप उपलब्ध गराउन प्रयास अघि बढाएका छौँ ।’
तर, विडम्वना प्रधानमन्त्री ओलीले यतिखेर अक्सिजन र आईसिुय बेड नपाएर विमारीले अकालमै ज्यान गुमाइरहेको प्रशंगलाई कतै उल्लेख गरेका छ्रैनन् । निर्वाचन अगाडि सबै नेपाली जनतालाई खोप दिने बताएर प्रधानमन्त्रीले सम्बोधनमा चुनावी नाराका रुपमा अगाडि सारेका छन् ।
सरकारले घोषणा गरेको मितिमै चुनाव हुने हो भने पाँच अब महिना मात्र बाँकी छ । यस अवधिमा नेपाली जनताले कोभिडविरुद्धको पहिलो डोजसमेत लगाउन सम्भव देखिँदैन । किनकि भारतको खोप उत्पादन कम्पनी सिरमले नोभेम्बर अन्तिमतिर मात्र खोप उपलब्ध गर्न सक्ने बताइसकेको छ । प्रतिनिधिसभा विघटन गरेसँगै सरकारले आगामी कार्तिक २६ गते र मंसिर ३ गते चुनाव घोषणा गरेको छ ।
यस्तै, प्रधानमन्त्री ओलीले सरकारले आफ्नो क्षमतालाई भरपुर प्रयोग गर्दै कोभिडविरूद्ध लडाईँमा आफूलाई केन्द्रित गरिरहेको बताएका छन् । वर्तमान महामारीको चुनौतीलाई सामना गर्न सक्षम हुने विश्वाससमेत उनले दिलाएका छन् ।
प्रधानमन्त्री ओलीले गणतन्त्र दिवश अवसरमा राष्ट्रको नाममा दिएको सम्बोधनमा ‘चुनावी’ फोकस गरिएको छ । जबकि विपक्षी गठबन्धन दलहरुले प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ जारी छ । उनीहरुले सरकारले एकलौटी रुपमा घोषणा गरेको चुनावलाई समेत स्वीकारेका छैनन् ।
तर, प्रधानमन्त्री ओलीले आगामी चुनावलाई लक्षित गर्दै सम्बोधनमा भने, ‘निर्वाचनले जनादेशलाई पुनर्ताजगी गर्न र निर्वाचनपछि बन्ने सरकारलाई सुदृढ बनाउन जनअपेक्षाअनुसार काम गर्न उत्प्रेरित गर्दछ । यसै अभिप्रायका साथ आगामी कात्तिक २६ र मंसीर ३ गते दुई चरणमा आमनिर्वाचन सम्पन्न गर्ने घोषणा भएको छ ।’
प्रधानमन्त्री ओलीले चुनाव हुँदैन भनेर कोही भ्रममा नपर्नसमेत आग्रह गरेका छन् । प्रधानमन्त्रीको सम्बोधनमा भने, ‘यतिबेला चुनाव हुँदैन र गराईँदैन भन्ने भ्रमपूर्ण प्रचार तथा चुनाव स्वतन्त्र र निश्पक्ष हुँदैन भन्ने कुप्रचार दुवै अत्यन्त निराधार छन् । यस्ता दुश्प्रचारको भ्रममा नपर्न म सबैमा आह्वान गर्दछु ।’