वासिङ्टन । नेपाललाई कोरोना विरुद्धको खोप आपूर्तिका लागि विशेष पहल गर्न अनुरोध गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेनलाई पत्र लेखेकी छन् ।
राष्ट्रपतिको पत्र नेपाली राजदूत युवराज खतिवडाले अमेरिकी स्टेट डिपार्टमेन्टका बरिष्ठ सल्लाहकार एर्भिन मासिंगालाई बुझाएका हुन् । उक्त भेटमा राजदूत खतिवडाले मासिंगालाई नेपालमा भाइरस महामारीको अवस्था र खोप अभियानबारे अवगत गराएका थिए ।
दुतावासका अनुसार जवाफमा अमेरिकी स्टेट डिपार्टमेन्टका सल्लाहकार मासिंगाले नेपाललाई जतिसक्दो चाँडो कोभ्याक्स सुविधा र द्धिपक्षीय संयन्त्रबाट खोप उपलब्ध गराउन अमेरिकाले पहल गर्ने जानकारी दिएको छ ।