कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकारका रहेका नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुलाई स्पष्टीकरण सोधेको छ ।
एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीलाई २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।
यस्तै, राज्यमन्त्रीमा नियुक्त चुनकुमारी चौधरी, अर्चना गहतराज र मना साउदलाई पनि स्पष्टीकरण सोधिएको छ । साथै पार्टी प्रदेश संसदीय दलको सचेतकमा नियुक्त दुर्गा कामीलाई समेत स्पष्टीकरण सोधेको छ ।
उनीहरूलाई स्थायी कमिटीको बैठकको निर्णयविरुद्ध प्रदेश सरकारको मन्त्री भएको आरोप लगाइएको छ । सोमबार एमाले स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको छ । शुक्रबार एमालेको माधव पक्षले मन्त्री थप गरेको हो । तर, ओली पक्षले भने माओवादी नेतृत्वको सरकारमा सामेल भएको भन्दै विरोध गरेको छ ।