काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्वल थापाको परिवारले मेडिकल व्यवसायी दुर्गा प्रसाइँको सहयोग आवश्यक नरहेको जनाएको छ ।
यसअघि मेडिकल व्यवसायी प्रसाईँले थापाको उपचारमा लाग्ने सम्पूर्ण सहयोग आफूले व्यहोर्ने घोषणा गरेका थिए । त्यसलगतै थापाको परिवारले प्रसाईँको सहयोग अस्वीकार गरेको हो ।
हाल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको बताउँदै प्रसाईँले दिने भनेको सहयोग आवश्यक थापाको परिवारले जनाएको छ ।
शनिबार थापाको परिवारले प्रेस विज्ञप्ति जारी गर्दै प्रसाईँले दिने भनेको उपचारमा लाग्ने सम्पूर्ण सहयोग आफूलाई आवश्यक नभएको जनाएको हो ।
‘सहयोग संकलनको क्रममा उज्वल थापाको उपचार खर्च आफूले व्यहोर्ने भनी श्री दुर्गा प्रसाईंले भन्नुभएको भन्ने सञ्चार माध्यममा प्रकासन र प्रसारण भएको खबर हाम्रो जानकारीमा आएको छ’ थापाको परिवारजनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाल उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले श्री दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ ।’ थापा करिब दुई सातादेखि कोरोना संक्रमित भई अस्पतालमा उपचार गराइरहेका छन् ।