काठमाडौं । सरकारले ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तन गरेर ‘रवीन्द्र विमानस्थल’ बनाउने भएपछि विरोध हुन थालेको छ ।
प्रदेश १ का पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले ताप्लेजुङको सुकेटार बिमानस्थल र चुहानडाँडा विमानस्थलको नामाकरणमा सरकारले गम्भीर कमजोरी गरेको बताएका छन् ।
संघीय सरकारले शनिबार अध्ययादेश मार्फत सार्वजनिक गरेको बजेटमा ताप्लेजुङको सुकेटार विमानस्थललाई स्वर्गीय रबिन्द्र अधिकारी विमानस्थल र चुहानडाँडालाई आङछिरिङ शेर्पा विमानस्थल नामाकरण गर्ने घोषणा गरेको छ । यस नामाकरणलाई इतिहास, संस्कृति, पहिचान र भावनात्मक मनोविज्ञानमाथि राज्यबाट हस्तक्षेप भएको आङ्बोले टिप्पणी गरेका छन् ।
नेकपा माओवादी केन्द्र प्रदेशसभाका संसदीय दलका नेतासमेत रहेका आङ्बोले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै दुवै बिमानस्थलको प्रचलित नाम कायम राख्नु पर्ने र नयाँ नामाकरण गर्नै पर्ने भए स्थानीय सरोकारवालासँगको अन्तरक्रिया गरेर निष्कर्शका आधारमा मात्र गर्नुपर्ने बताएका छन् । नयाँ नामाकरण नै गर्ने भए स्थानीय पहिचान झल्किनु पर्ने उनको भनाई छ ।
राज्यको हस्ताक्षेप र हेपाह प्रवृत्तिले शासक, शासन व्यवस्था र प्रणालीमाथि नै आक्रोश, अविश्वास, घृणा पैदा गराउने र त्यसले समाजलाई भिडन्ततर्फ लैजाने उनको भनाई छ । उनले बजेट मार्फत गम्भीर कमजोरी भएको भन्दै सच्याउन आग्रहसमेत गरेका छन् ।
उनले भनेका छन्- ‘स्वर्गीय अधिकारी र शेर्पाको सम्मानको लागि सरकारले निर्माण गर्ने अरु कुनै नयाँ पूर्वाधारमा उहाँहरुको आफ्नै भौगोलिक क्षेत्रको महत्वपूर्ण आयोजनामा नामाकरण गर्नु राम्रो हुने भन्दै पहिचान र रैथाने संस्कृतिमा आधारित दुवै विमानस्थलको साविककै नाम प्रचलनमा रहनुपर्छ।’