रूपन्देही । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञाको समय जेठ ३१ गतेसम्मका लागि लम्ब्याएकाे छ । जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको प्रभावलाई मध्यनजर गरी जारी निषेधाज्ञालाई जेठ मसान्तसम्म थप गर्ने निर्णय गरेको हो ।
यसअघि जिल्लास्तरीय कोभिड संक्रमण व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकको निषेधाज्ञा थपको सिफारिस गरेको आधारमा थप गरिएको छ ।
नयाँ निर्णय अनुसार सुरक्षाकर्मी, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला, व्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधी र अत्यावश्यक वस्तु तथा माल समान ढुवानी गर्ने ढुवानीका साधन जस्ता अति आवश्यक सेवा सन्चालनमा रहनेछन् ।
तर, जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक सवारी साधन सञ्चालन गर्न निषेध गरिएको छ । कुनै पनि भेला, भिडभाड जम्मा हुन, मानिसहरु भेला, जात्रा सञ्चालन गर्न, महोत्सव वा सभा जुलुस गर्न पनि निषेध गरिएको छ ।
सबै प्रकारका सभा, पार्टी प्यालेस, सिनेमा हल, सेमिनार, तालीम, गोष्ठी, सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, डिपार्टमेन्ट स्टोर, सिटिङ्ग मल, ब्युटीपार्लर र स्विमिङ पुल, स्पा, संग्रहालय, पुस्तकालय, समूहमा खेल्ने खेलकुद, जिमखाना आदि सञ्चालन गर्न पनि रोक लगाइएको छ ।
रुपन्देहीमा गत वैशाख १६ गतेबाट निषेधाज्ञाका जारी गरिएकाे थियाे । ।