Logo
Logo

बीमा पहुँच ३३.३३% पुर्‍याउने लक्ष्य


दृष्टि संवाददाता

189
Shares

काठमाडौं । सरकारले आगामी आवमा जीवन बीमाको पहुँच १ तिहाइ नेपाली अर्थात् ३३ दशमलव ३३ प्रतिशत जनसंख्यामा पुर्‍याउने महत्त्वाकांक्षी लक्ष्य लिएको छ । तर, त्यो लक्ष्य प्राप्ति गर्न सहयोग पुग्ने गरी कार्यक्रम ल्याउने विषयमा भने सरकार मौन देखिएको छ ।

गत शनिवार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवमा बजेट प्रस्तुत गर्दै बीमाको पहुँच १ तिहाइ जनतामा पुर्‍याउने बताए । तर, त्यो लक्ष्य प्राप्त गर्न सहयोग पुुग्ने गरी आवश्यक कार्यक्रम ल्याउन उनको बजेट मौन देखिएको बीमा कम्पनीहरूले बताएका छन् ।

मन्त्री पौडेलले नै सार्वजनिक गरेको चालू आवको सर्वेक्षणअनुसार फागुन मसान्तसम्म बीमाको पहुँच २३ दशमलव ४ प्रतिशत जनतामा पुगेको छ । बीमा समितिले भने आगामी असारमसान्तसम्म बीमाको पहुँच २७ प्रतिशत नेपालीमा पुग्ने बताएको छ । आगामी आवमा थप ६ दशमलव ३३ प्रतिशत अर्थात् १९ लाख २१ हजार ६६ जना नेपालीमा बीमाको पहुँच बढाउनुपर्ने हुन्छ, जुन निकै चुनौती पूर्ण रहेको कम्पनीहरू बताउँछन् ।

बीमाको व्यवसाय शुरू भएको ७ दशकको अवधिमा बीमाको पहुँच जम्मा २३ दशमलव ४ प्रतिशत जनतामा पुगेको छ । अब छोटो समयमै त्यो ३३ दशमलव ३३ प्रतिशत जनतामा पुर्‍याउन कठिन हुने बीमा कम्पनीहरू बताउँछन् ।

जीवन बीमक संघ नेपालका अध्यक्ष तथा मेट लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० निर्मलकाजी श्रेष्ठले जीवन बीमाको हकमा बजेटबाट केही पनि सम्बोधन नभएको बताए । ‘बजेटमा बीमाको पहुँच १ तिहाइ जनतामा पुर्‍याउने भनेर एउटा लक्ष्य राखिएको छ । तर, त्यो लक्ष्य प्राप्ति गर्न सहयोग हुनेगरी कुनै पनि कार्यक्रम ल्याइएको छैन,’ उनले भने, ‘प्रोत्साहनका लागि कुनै पनि कार्यक्रम नभएको अवस्थामा त्यो लक्ष्य प्राप्ति गर्न एकदमै कठिन हुने देखेका छौं ।’, यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्