काठमाडौं । भारतको उत्तर प्रदेशमा हालै आफ्नी प्रेमिकाको अर्कै केटासँग बिहे हुन थालेपछि रन्थनिएका एक युवक बेहुली बनेकी प्रेमिकालाई भेट्नका लागि केटीको भेष गरेर बिहे स्थलमा छिरे । तर, विडम्बना उनी पक्राउ परेका छन् ।
उत्तर प्रदेशको भादोही जिल्लास्थित एक गाउँमा यो घटना भएको हो । एकजना युवक बेहुलीको जस्तै पहिरनमा सजिएर आफ्नी गर्लफ्रेण्डको घरमा छिरे । उनकी गर्लफ्रेण्डको अर्कै केटासँग बिहे निधो भएको थियो र बिहेको तयारी पनि चलिरहेको थियो ।
बेहुली पहिरन लगाएका ती युवकले नक्कली कपाल, सिँगारपटार गरेका थिए र काँधमा लेडिज ब्याग भिरेका थिए । साथै उनले महिलाले लगाउने स्याण्डिल लगाएका थिए । उनी गर्लफ्रेण्डको घरभित्र लुसुक्क छिरे र बेहुलीसँग भेटाइदिन अनुरोध गरे । तर उनको जीउडाल तथा हाउभाउ देख्दा बेहुलीका घरका मान्छे सशंकित भए ।
बेहुलीका घरका मानिसले आशंका गरेपछि ती युवकले लामो समयसम्म केटी भएको बहाना गरिरहन सकेनन् । अन्ततः उनको पोल खुल्यो र त्यहाँ उपस्थित मानिसहरुले उनलाई समातिहाले । जब उनलाई समातेर उनको घुम्टो तथा नक्कली कपालसमेत हटाइयो तब सबैजना तीनछक परे ।
उनलाई प्रहरीमा बुझाउनका लागि पुलिसलाई फोन गर्ने तयारी भैरहेको थियो । तर अकस्मात ती युवक त्यहाँबाट भाग्न सफल भए । उनलाई घर बाहिर उनका दुईजना साथीहरुले कुरिहेका रहेछन् । उनै साथीहरुसँग उनी त्यहाँबाट बाइकमा सुइँकुच्चा ठोके ।
ती युवकले बेहुलीका भूपू प्रेमी रहेको बुझिएको छ । तर उनी बिहेको दिन किन बेहुली पहिरनमै उनलाई भेट्न आए भन्नेचाहिँ खुलेको छैन । एजेन्सी