Logo
Logo

बीबीसीमा त्यो दुखद दृश्य


माथवरसिंह बस्नेत

0
Shares

अहिले पनि सम्राट न्यायप्रिय नै छन्, केवल न्यायभित्र छिपेको अन्यायको पहिचान गर्न उनी असमर्थ छन् ।

अल्वेयर कामु, क्यलिगुला ।

आफ्नो समयका महान चिन्तक तथा नोबल पुरस्कारबाट सम्मानित साहित्यकार कामुको जन्मथलो– फ्रान्स र कर्मभूमि रहेको अल्जेरिया दुवै अहिले उग्र आन्दोलनको चपेटमा छन् । फ्रान्सको आन्दोलन, पेट्रोलियम पदार्थमा लागेको कर हटाउने मागबाट शुरु भएको थियो । त्यो माग पूरा भएपछि आर्थिक सुधारका एजेण्डा थपियो र अब राष्ट्रपति म्याक्रोनको राजीनामाभन्दा कममा नथामिने हुन पुगेको छ । अल्जेरियाको आन्दोलनचाहिँ प्रारम्भ नै राजनीतिक परिवर्तनका लागि भएको थियो । त्यहाँ विगत २० वर्षदेखि एक दलीय शासन चलाइरहेका राष्ट्रपति अब्देल अजीजलाई आगामी निर्वाचनमा उमेदवार हुनबाट रोक्न आन्दोलन भएको थियो । फ्रान्सको उपनिवेशबाट २०१९ सालमा मुक्त भएको अल्जेरियामा आन्दोलन चर्किंदै गएपछि राष्ट्रपतिले त्यो माग पूरा गरिदिए । तर आन्दोलनकारीलाई त्यत्तिले पुगेन, राष्ट्रपतिको राजीनामा नै चाहियो । फ्रान्स र अल्जेरिया दुवै देशमा विधि र प्रक्रियाबाट होइन, सडकबाट राष्ट्रपति फाल्ने अभ्यास शुरु भएको छ । आधुनिक विश्वमा पहिलो राज्यक्रान्ति भएको फ्रान्समा त्यो अभ्यास साँच्चै सफल भयो भने त्यसको प्रभाव विश्वव्यापी भएर फैलिन समय लाग्ने छैन । अनि संविधान, संसद र कानून होइन, सडक नै निर्णायक हुने जंगली दौर चल्नेछ । भेनेजुयलामा त्यसको झलक देखिन थालिसकेको छ । अन्यत्र पनि फैलियो भने के आश्चर्य ?

जताततै केटाकेटीका भोक र रोगका चित्कार । सबैतिर हाहाकार । विवश तथा असहाय आमाबाबु लाचार छन् । उनीहरु केही बोल्न सक्तैनन् । उनीहरुका आँखा मात्र बोल्छन्, त्यो पनि आँसु बनेर । अभागी त्यो गाउँमा दुई दिनपछि दिउँसो हेलिकोप्टरले केही सामान खसालेर गयो । बिस्कुटका पुरिया रहेछन् । त्यसमाथिको छिनाझपटीका बेग्लै कथा थिए । त्यस्तो हृदयविदारक दृश्य, बीबीसीले हेलिकोप्टरबाट खिचेर देखाएको थियो । तर जसले त्यो विकराल प्राकृतिक विनाशको भयावह दृश्यको सुटिङ गरेको हो, उसको अनुहार नदेखिएकाले उसका आँखाबाट झरेका अविराम अश्रुधाराचाहिँ दर्शकले देख्नुपरेन । नत्र त्यस्तो दृश्य, अझ बढी करुण हुने थियो ।

माथवरसिंह बस्नेत

दैवो घातक दुर्वल !

हाम्रो शास्त्रले भनेको छ, दैवले पनि दुर्वलमाथि नै दुःख थपेर अत्याचार गर्छन् ।

त्यसैले दैवो घातक दुर्वल भनिएको हो । त्यो उक्ति लागू भएको छ– समुन्द्री आँधिको शिकार बनेका अफ्रिकी देश– मोजाम्विक र जिम्वावेमा । एक समय थियो, पृथ्वीको तापमान निरन्तर चिसो भइरहेको थ्योरीले काम गथ्र्यो । तर अहिले त्यसको उल्टो गर्मी बढ्दै गएको छ । विश्वको जलवायुमा आएको परिवर्तनले तापमान लगातार बढीरहेको छ र प्रकृतिमाथि प्रतिकूल प्रभाव पार्ने प्लाष्टिक तथा केमिकलहरुको अत्यधिक प्रयोग, यही गतिमा कायम रहने हो भने एक दिन यो ग्रह मानिस तथा प्राणीहरुका लागि बस्न लायक रहने छैन भन्ने वातावरणविद्हरुका चेतावनीलाई आर्थिक विकासको तीव्र प्रतिस्पर्धामा आकण्ठ डुबेको विश्वले सुनेको नसुन्यै गर्नेगरेको छ । मानिसहरुले पृथ्वीको जलवायुमा आएको परिवर्तन र त्यसले उत्पन्न गर्ने खतरामाथि सम्वन्धित विषयका विद्वान तथा विशेषज्ञहरुका परामर्श र सुझावलाई मान्न इन्कार गरे पनि प्रकृतिलेचाहिँ आफ्नो असर देखाउन छाडेको छैन । भरखरै अफ्रिकी महादेशको दक्षिण पूर्वी किनाराका देशहरु– मोजाम्विक र जिम्वावेमा ईडाइ नामको समुन्द्री आँधिले जस्तो विनाशलीला देखायो, त्यसले वैज्ञानिकहरुको भविष्यवाणी सत्य सावित गरेको मात्र छैन, मानवजातिले भविष्यमा अझ ठूलो संकटको सामना गर्नुपर्ने डरलाग्दो तस्वीर पनि प्रस्तुत गरेको छ ।

यद्यपि, अमेरिकाका कतिपय राज्यमा पनि समुन्द्री आँधिले ठूलो हाहाकार मच्चायो र धनमालको पनि धेरै क्षति भयो, तथापि त्यो विकसित देश भएकाले त्यस्तो क्षति झेल्न उसलाई कठिन भएन, केही दिनभित्रै उसले राहत, पुनर्वास र पुनः निर्माणको क्रम चलाएर प्राकृतिक प्रकोपको घाउ पुर्न सफलता पायो । तर हिन्दमहासागरबाट उठेको समुन्द्री आँधिको विनाशकारी लहर मोजाम्विकबाट भित्र पसेर जिम्वावेसम्म पुग्दा जति जन–धनको क्षति पु¥यायो, त्यसको अहिले कसैले अनुमान पनि लगाउन सकेका छैनन् । त्यो यस कारण कि समुन्द्री आँधिको वेग अत्यन्त तीव्र भएको र विनाशको मात्रा पनि कल्पनातीत भएकाले त्यहाँको सरकारको के कुरा, अन्तर्राष्ट्रिय रेडक्रस, अमेरिकी मिसन, अन्य विश्वसंस्थाका एजेन्सी तथा बीबीसीजस्ता साधनसम्पन्न संचारका माध्यमले पनि त्यो घटनामा मर्नेहरुको संख्या र भौतिक क्षतिको अनुमान लगाउन सकेका छैनन् । लागोस् पनि कसरी ? समुन्द्री किनारका विशाल क्षेत्रमा आँधि, पानी, बाढी र पहिरोको ताण्डवबाट पीडित गाउँ तथा बस्तिहरुका मानिसको उद्धारका लागि चार दिनसम्म कोही पनि पुग्नसकेका थिएनन् । भरखर त्यहाँ उद्धारकर्मीहरु पुग्न थालेका छन् ।

दुई दिनअघिसम्म मानिसहरुले खाने अन्न, पिउने पानी, ओत लाग्ने ठाउँ र रात बिताउने छहारीसम्म पाएका थिएनन् । गाउँका कच्ची घर सबका सब भत्किए, नभत्किएका घरमा पनि छाना छैनन् । घरमा पानी भरिएर पाइला टेक्ने ठाउँ छैन । बाढीले घर मात्र बगाएको होइन, हिलोले सबैथोक पुरिदिएको छ । उनीहरुका आफन्तमध्ये धेरै बाढीमा बगे, हिलोमा पुरिए र ढलेका रुखले थिचिएर मारिए । जो बचेका थिए, तिनले रुखमा चढेर ज्यान त जोगाए तर उनीहरुको उद्धार गरिदिने कोही भएनन् । मौसम केही सुध्रिएपछि आकाशमा हेलिकोप्टर पनि देखाप¥यो । त्यसमा राहत सामाग्री पनि हुँदो हो । तर रोक्ने ठाउँ नै नभएकाले त्यसै फर्केर गयो । डुंगाबाट आएका उद्धारकर्मीहरुले रुखबाट झारेर उनीहरुलाई बस्तिमा पु¥याए । त्यहाँ झन् ठूलो विजोग ! न पिउने पानी छ, न कतै अन्नका दाना छन् । जताततै केटाकेटीका भोक र रोगका चित्कार । सबैतिर हाहाकार । विवश तथा असहाय आमाबाबु लाचार छन् । उनीहरु केही बोल्न सक्तैनन् । उनीहरुका आँखा मात्र बोल्छन्, त्यो पनि आँसु बनेर । अभागी त्यो गाउँमा दुई दिनपछि दिउँसो हेलिकोप्टरले केही सामान खसालेर गयो । बिस्कुटका पुरिया रहेछन् । त्यसमाथिको छिनाझपटीका बेग्लै कथा थिए । त्यस्तो हृदयविदारक दृश्य, बीबीसीले हेलिकोप्टरबाट खिचेर देखाएको थियो । तर जसले त्यो विकराल प्राकृतिक विनाशको भयावह दृश्यको सुटिङ गरेको हो, उसको अनुहार नदेखिएकाले उसका आँखाबाट झरेका अविराम अश्रुधाराचाहिँ दर्शकले देख्नुपरेन । नत्र त्यस्तो दृश्य, अझ बढी करुण हुने थियो ।

मानव निर्मित दुर्घटना

त्यो त थियो, प्राकृतिक प्रकोप । उता न्युजिल्याण्डजस्तो शान्त देशमा एकजना उन्मादी व्यक्तिले मुसल्मानहरुको मस्जिदमा नमाज पाठ गरिरहेका व्यक्तिहरुमाथि अन्दाधुन्द गोली प्रहार गरेर ५० जनाको नृशंस हत्याको घटना भने मानव निर्मित दुर्घटना थियो । फेसबुकका माध्यमबाट प्रत्यक्ष प्रसारण गरिएको त्यस्तो क्रूर अपराधिक घटनाको दृश्यलाई फेसबुकका मालिकले बीचमै नरोकेकोमा अष्ट्रलियाका प्रधानमन्त्री स्कट मोरिसनले भयानक आपत्ति प्रकट गरेका छन् र फेसबुक कम्पनीमाथि कारवाहीका निम्ति आफूले जी– २० को आगामी बैठकमा पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । त्यो घटनाको लगत्तै न्युजिल्याण्ड सरकारले व्यक्तिलाई स्वचालित हतियार राख्न दिने कानून संशोधन गरेर कडा तुल्याउने । तर चोर आएको भोलिपल्टको सतर्कताले के अर्थ राख्छ र !

त्यस्तै निर्मम हत्याको अर्को क्रूर घटना भएको छ, अफ्रिकाको पश्चिम उत्तरस्थित मालीमा । आदिवासी, जनजाति तथा जातिवादको पश्चिमी देशका आइएनजीओले लगाएको आगोमा पहिले नै जलिरहेको मालीमा यसअघि पनि धेरै पटक हिंसक मुठभेड भइसकेको हो । तर यसपालि डोगान र फुलानी जातिबीचको बिबादमा सेना पनि सामेल हुन पुगेकाले गाउँको पानी सम्वन्धी झगडामा १४० जनाको एकै चिहान भएको छ ।

त्यो घटनामा संलग्न भएको आरोपमा यद्यपि सरकारले केही वरिष्ठ सैनिक अधिकारीलाई बर्खास्त गरेको छ्, तथापि राजनीतिक स्थिरता नभएको मालीमा सैनिकमाथि सरकारले गरेको कारवाही उसैमाथि बज्रिनसक्ने अनुमान पनि उत्तिकै प्रबल रहेको अनुमान लगाइएको छ । राष्ट्रसंघको नियोगले भने सरकारी कारवाहीको स्वागत गरेको छ । तर सरकारी निर्णयमाथि सेनाको प्रतिक्रिया आउन बाँकी छ ।

विधिको शासन अथवा कानूनी राजको जति बखान गरे पनि मानवजातिले अहिले पनि घोर अन्यायको शिकार हुन वाध्य हुनै परेको छ । त्यो कसीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भाग्यमानी सावित भएका छन्, जसले मुलर आयोगबाट सफाई पाएका छन् । उनीमाथि सन् २०१६ को निर्वाचनमा रुसी सहयोग लिएको र त्यसको छानविन प्रक्रियामा हस्तक्षेप गरेको आरोप लागेको थियो । त्यसको निष्पक्ष जाँच गर्न पूर्व न्यायाधीश मुलरको नेतृत्वमा आयोग गठन भएको थियो । त्यसले २० महिना लगाएर छानविन गरेपछि ट्रम्पलाई निर्दोष घोषित गरेर अमेरिकामा सडकभन्दा कानून बलियो भएको प्रमाणित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्