काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी बैठक शनिबार (आज) बुढानीलकण्ठमा बस्दैछ । कांग्रेसले दिउँसो-२ बजेको लागि बोलाइएको बैठकमा आसन्न महाधिवेशनको विषयमा छलफल हुनेछ ।
संवैधानिक व्यवस्था अनुसार आगामी भदौसम्ममा पार्टीको १४औं महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने अवस्था भए पनि कोरोना महामारीका कारण कार्यतालिका प्रभावित हुने भएको हो । यहि विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो ।
पूर्व निर्धारित कार्यतालिकाअनुसार असारमा वडा तहको अधिवेशन सुरु गर्नुपर्ने हुन्छ । तर अहिलेसम्म क्रियाशील सदस्यताको टुंगो समेत नलागिसकेको अवस्थामा कार्यतालिका अनुसार महाधिवेशन गर्न कठिन देखिएको छ । हालसम्म झण्डै ८ लाख क्रियाशील सदस्यको विवरण डेटा सिस्टममा इन्ट्री भएको छ, तर त्यसलाई प्रकाशित गरेर उजुरी समेत आह्वान गर्न बाँकी रहेको छ ।