काठमाडौं । बागमती प्रदेश काँग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यको अभिव्यक्तिलाई लिएर नेकपा एमाले निकट विद्यार्थीले शनिबार प्रदेशसभा भवन अगाडि विरोध प्रदर्शन गरेका छन् ।
विद्यार्थीले प्रदेशसभा सदस्य वैद्यविरुद्ध नाराबाजी गर्दै उनको पुत्लासमेत जलाएका छन् । आक्रोशित विद्यार्थीले वैद्यलाई प्रदेशसभामा नभएर बुद्ध चोकमा आएर बोल्न चुनौती दिए ।
काँग्रेसका प्रदेशसभा सदस्य वैद्यले शुक्रबार प्रदेशसभामा दिएको अभिव्यक्तिलाई लिएर सर्वत्र विरोध भइरहेको छ ।
वैद्यले शुक्रबार प्रदेशसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कोही ‘नाथुराम गोड्से’ हुन सक्ने चेतावनी दिएका थिए । नेपाली काँग्रेसले वैद्यलाई उक्त भनाइ फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिइएको जनाएको छ ।