- देवेन्द्र सुर्केली
हाइकु जापानबाट आएको साहित्यिक विधा हो । कम शब्दमा धेरै भाव बोक्ने विधा हाइकु हो भनिन्छ । जसमा शब्दको मात्रा १७ हुन्छ । अर्थात पहिलो पंक्तिमा ५, दोश्रो पंक्तिमा ७ र अन्तिमको पंक्तिमा ५ । त्यसैले यो शैलीको कवितालाई सबैभन्दा छोटो साहित्यिक विधा भनिदै आएको छ । हुन त यो भन्दा छोटो शैलीको कविता सुनसरी धरानका गोपाल देवानले लेख्दै आएका छन् । जसलाई क्रिमुक (क्रिया मुक्त कविता) नाम दिएका छन् ।
सातौँ शताब्दिमा चीनमा बौद्ध धर्मको प्रभावमा परेर श्रृङ्खलावद्ध लेखिएको ‘हाइकाइ’ जापानमा आएर छोटिँदै ‘होक्कु’ बनेको हो । होक्कुबाट ‘हाइकु’ बनेको यो पूर्वी एसियाली साहित्यले विश्व साहित्यलाई नयाँ योगदान दिएको छ ।
वि.सं. २०१९ मा शंकर लामिछानेले ‘रूपरेखा’को भदौं अंकमा सूर्योदय शिर्षकको हाइकु लेखे । नेपालमा सर्वप्रथम भित्रिएको हाइकु यसैलाई मानिन्छ । त्यसपछि बिस्तारै नेपालमा हाइकु लेखन र सङ्ग्रह समेत प्रकाशन हुन थाल्यो । कृतिको हिसाबमा जाने हो नेपालमा हाइकुबारे एउटा ठूलो अध्ययन बन्छ ।
हाइकुबारे हाल फिनल्याण्डमा बसोबास गरिरहेका जनक सापकोटाले त विभिन्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धासमेत जितिसकेका छन् । त्यसैगरी सुनिल पुरीले ‘गाभा’, इरान राई सेवकले ‘पुरानो काग’ र ‘लिम्पियाधुरा’, एनबी अन्जानले ‘आधा इन्च’ नामक मोवाइलको सिम आकारको हाइकु सङ्ग्रह प्रकाशन गरेर नौलो कार्य पनि भएका छन् ।
यहाँ चर्चा गर्न खोजिएको चाही प्रा. जगत् उपाध्याय ‘प्रेक्षित’कृत ‘आरम्भ’ (हाइकु सङ्ग्रह, २०७५)को हो । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा दर्शनशास्त्र विभाग प्रमुख रहेका प्रेक्षित नेपाल संस्कृत विश्वविद्यालय बाल्मीकि विद्यापीठ, नेपाल संस्कृत विश्वविद्यालयका पूर्व कुलसचिव रहिसकेका छन् । ‘आरम्भ’ हाइकु संग्रह प्रेक्षितको पछिल्लो कृति हो ।
प्रेक्षितका आकुञ्चन (संयुक्त कविता सङ्ग्रह, २०५०), ज्वाला (खण्डकाव्य, २०५४), कमिलाको एकता (बालकवितासङ्ग्रह, २०५९), समयका छालहरू (कवितासङ्ग्रह, २०६०), हिमाल हेर्न जाऔं (बालकविता सङ्ग्रह, २०६५), सेता हाँस र मुसाहरू (सचित्र बालकथा, २०६६), नेपाल प्रज्ञा–प्रतिष्ठानका गौरवमय साठी वर्ष (अनुसन्धान, २०७४), दैलेख लम्जीको कश्यप गोत्रीय पाण्डेय वंशा र ज्यो.पं. हरिप्रसाद उपाध्याय (अनुसन्धान, २०७५), म, माटो र मुटु (कविता सङ्ग्रह, २०७५), आलोचनात्मक भूमिकाहरू (२०७५), काव्य परिशीलन (समालोचना, २०७५) लगायत कृतिहरू प्रकाशन भएका छन् । उनले तीन दर्जनभन्दा बढि पत्रपत्रिका, स्मारिका तथा मुखपत्र सम्पादन गरेका छन् ।
प्रेक्षितले वि.सं. २०४९ सालदेखि हाइकु रचना गर्न थालेका हुन् । डायरीमा लेख्दै थन्क्याउँदै गर्दा दुईहजारको संख्यामा लेखेको बताउँछन् । २७ वर्षे अवधिमा केही पत्रपत्रिकामा प्रकाशन भए । हाइकुबाट पनि आफूले भन्न खोजेको कुरा मज्जाले राख्न सकिन्छ, छाटोमा राख्दा अझ ‘चोट्टे’ हुने हाइकुकारको भनाई छ ।
समय समयका अनुभूति भनेर हाइकु लेखनबारे बताउने प्रेक्षितका यस कृतिमा २११ वटा हाइकु छन् । हाइकुले सबैप्रकारका विकृति विसंगतिमा प्रहार गरेको छ । जस्का केही उदाहरणहरू यहाँ प्रस्तुत गरिएको छ ।
कागको राज्य
अन्धकार बिहानी
रातमा सूर्य ।
इनार खन्यो
फेर इनार पर्यो
खल्ती विकास ।
छातीमा गोली
रोपिएका जिन्दगी
वाक्स्वतन्त्रता !
रक्तका भेल
लासका फौजहरू
शान्तिको क्षेत्र ।
उन्मुक्त छाती
उदार मिनी स्कर्ट
महिला मुक्ति ।
मिलेका गला
हातमा छ पेस्तोल
गाढा मित्रता ।
पढाउँदैनन्
गाइड लेख्तछन्
आजका गुरु ।
बिताइदिएँ
शिशु प्रजातन्त्रमै
सत्तरी वर्ष ।
नेपाली युवा वैदेशिक रोजगारीमा छन् । उनीहरूको भावनालाई पनि हाइकुमा यसरी टिपिएका छन् ।
मुग्लानवास
गैँतीको उपहार
सुखी जीवन ।
नेपाली साहित्यले राजनीतिलाई व्यङ्ग्य नगरेको कुनै विधा छैन । अझ यस्तो एकवचनमा भनिसकिने कवितामार्फत त सजिलै व्यङ्ग्य हुने रहेछ । त्यसका उदाहरण निम्न छन् ।
त्यागी छन् नेता
भ्रष्टाचार गर्दैनन्
मौका नपर्दा ।
आदर्श गफ
व्यावहार सामन्ती
महान् उही रे !
नाकावन्दी छ
ठूलो प्रजातन्त्रको
नयाँ मौसम !
प्रशासनिक क्षेत्रमा जनताले पाएका दुःखको यथार्थता यसरी हाइकुमा यसरी प्रस्तुत गरेका छन् ।
मान्छेको भीड
मालपोतको अफिस
पैसा व्यापार ।
देशको नुन
खाएर गुन तिर्दैनस्
थुक्क ! बजिया !
घुस चल्दैन
हाम्रो कार्यालयमा
टेबलमाथि ।
साहित्य आफैमा पनि व्यङ्ग्य हो । समाजको दर्पण भनिन्छ । समाजका भएका विकृति विसंगतिलाई सिधा हिसाबमा या व्यङ्ग्यबाट देखाइन्छ । तर साहित्यकारकै बारेमा पनि व्यङ्ग्य गर्न सकिने यी हाइकुहरूबाट प्रतिष्टन्छन् ।
हाम्रा आदर्श
बालसाहित्यकार
बच्चा पिट्तैछन् ।
लेख्छ कविता
पढ्छ कविताहरू
केही बुझ्दैन ।
झम्के पानीले
झुम्म छ बिहानमै
मेरो लेखक ।
सबै दुर्बल
ऊ मात्रै अब्बल रे
आजको कवि ।
कृतिभित्र रहेका हाइकुबारे डा.मधुसुदन गिरीले भूमिकामार्फत केस्रा–केस्रा केलाएका छन् । हाइकुले भन्न खोजेका भाव, दिन खोजेको दर्शन, ध्वानीमाधुर्य, मात्राबारे प्रष्ट्याइएका छन् । त्यसैले यहाँ त्यसबारे थप केलाइरहन आवश्यक ठानिएन । मानवीय प्रवृति, बोध जनाउने सबैखालका हाइकुहरू यहाँ समाविष्ट छन् ।
केही हाइकुहरूका शब्द चयन एकदम क्लिष्ट छन् । त्यसले भन्न खोजेको कुरा भेट्टाउन समय लाग्छ । मथिङ्गल खियाउनु पर्छ भने केही हाइकुहरू तुरुन्तै उतारेर भित्तामा टाँसुजस्ता छन् । सबै खालका हाइकु पाइनु नै सिङ्गो कृतिको विशेषता पनि हो । ८० पेजमा फैलिएको कृतिलाई मकालु प्रकाशन गृह, काठमाडौँले प्रकाशन तथा वितरण गरेको छ । मूल्य रूपैयाँ १५० तोकिएको छ ।