काठमाडौँ । मल्लकालीन समयदेखि नेवार समुदायले इष्टदेवीका रूपमा पुज्दै आएको तलेजु भवानीको गलामा रहने हार (नेकलेस) अमेरिकाको सिकागोमा भेटिएको छ । सिकागो आर्ट इन्स्टिच्युटअन्तर्गतको म्युजियममा प्रदर्शनीमा रहेको उक्त हारबारे जानकारी शनिबार सामाजिक सञ्जालमा आएपछि तलेजु मन्दिरकै मूल पुजारीले आश्चर्य मानेका छन् ।
अमेरिकामा रहेकी कला–सम्पदा एवं साहित्यकी जानकार श्वेताज्ञानु बानियाँले शनिबार सिकागो म्युजियममा भेटिएको ‘तलेजु नेकलेस’ को सूचना ट्वीटरमार्फत सार्वजनिक गरेकी थिइन् । तलेजु भवानीका मूल पुजारी उद्धवमान कर्माचार्यका अनुसार झन्डै ४ सय वर्षअघि (संवत् १६९८ मा) राजा प्रताप मल्लले तलेजु मन्दिरमा पूजा गर्ने चलन बसाएका थिए ।
‘हामी कर्माचार्यहरू यो मन्दिरमा मूल पुजारी रहिआएका छौं,’ उनले कान्तिपुरसँग भने, ‘वर्षौंदेखि हराइरहेको हार सिकागोमा भेटिएको सुन्दा अचम्म लागेको छ ।’ मूल पुजारी उद्धवमानका अनुसार उनका बाबु–बाजेसमेत तलेजु भवानीको पुजारी थिए ।
२०२७ सालमा तलेजुको गरगहना छानबिन तथा लगत निर्धारण भनेर अध्ययन गरिएपछि तलेजु हारलगायतका गरगहना उठाएर लगिएको थियो । ‘त्यस बेला मेरा बुबा केशवमान तलेजुको मूल पुजारी हुनुहुन्थ्यो,’ ६३ वर्षीय उद्धवमानले सम्झिए, ‘गरगहना छानबिन गर्ने भनेर आएको टोलीमा राजदरबारका सदस्यसहित गुठी संस्थान, अञ्चलाधीश कार्यालय, संस्कृति मन्त्रालयसमेतका अधिकारी थिए ।
यहाँ रहेका ३ सयभन्दा बढी गरगहना, प्राचीन भाँडाकुँडा र सम्पत्तिको अभिलेख((लिखत) राखिएको थियो । झन्डै एक महिना लगाएर तलेजुका सबै सरसम्पत्ति उठाइएको थियो । तर, ती सामान र त्यसको लगत कहाँ लगिएको हो, कहिल्यै थाहा भएन ।’, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।