अत्तरिया । जिल्ला समन्वय समिति कैलालीका सदस्य टेकराज बुढाले आफ्नो छोराको पहिलो जन्म उत्सव सुकुम्बसी बस्तीमा मनाएका छन् । छोरा गौरंग बुढाको पहिलो जन्म उत्सव कैलालीको गोदावरी नगरपालिका– ५ गेटामा रहेको सुकुम्बासी बस्तीमा खाद्यान्न वितरण गरि मनाएको उनले बताए ।
उहाँले आफ्नो छोरा गौरंग बुढाको पहिलो जन्मोत्सवको अवसरमा सुकुम्बासी बस्तीका ३७ परिवारलाई खाद्यान्न वितरण बताए । उनले प्रत्येक परिवारलाई ११ किलोग्राम चामल, एक किलोग्राम दाल, एक पोका तेल, एक किलोग्राम नुन, लुगा धुने र नुहाउने साबुन एक÷एक वटा वितरण गरेका हुन् ।
सुकुम्बासी बस्तीमा खाद्यान्न वितरण गर्दै बुढाले छोराको जन्मोत्सव फजुल खर्च गरेर मनाउनु भन्दा निषेधाज्ञाले समस्या परेका मजदुरी गरेर साँझबिहानको हातमुख जोड्ने परिवारलाई राहत पुगोस् भनेर खाद्यान्न वितरण गरेको बताए । उनले भने, ‘मैले रहात वितरण गरेर मानवीय धर्म निर्वाह गरेको मात्र हुँ ।’
वडा नम्बर ५ कै वडा सदस्यमा विजयी भएर जिल्ला समन्वय समितिमा निर्वाचित भएका बुढाले आफूले चुनाव जितेको ठाउँका विपन्न परिवारलाई लकडाउनमा थोरै भएपनि राहत पुगोस् भनेर खाद्यान्न वितरणका लागि सुकुम्बासी बस्ती रोजेको बताए । राहत वितरणमा सहभागि वडा नम्बर ५ का वडा अध्यक्ष कर्णसिं बोहराले आर्थिक अवस्था कमजोर भएको बस्तीमा राहत वितरण गरेकोमा बुढालाई धन्यवाद व्यक्त गरे । उनले यस पटकको महामारीमा वडास्तरबाट राहत वितरण गर्न नसकिएको भएपनि व्यक्तिगत रुपमा भएपनि बुढाले राहत वितरण गर्नु सराहनीय काम भएको बताए ।
राहत पाएपछि खुसी व्यक्त गर्दै सुकुम्बासी बस्तीका पारश चौधरीले थोरै भएपनि खाद्यान्न पाउँदा लकडाउनमा जीविका चलाउन सहज हुने बताए । उनले लकडाउनमा काम पनि नपाइएकाले घर खर्च चलाउन समस्या भइरहेको बताए ।
‘घरमा मम्मी, बहिनी र म छु । अहिले लकडाउनमा मजदुरीको काम पाइरहेका छैन’ उनले भने, ‘काम नपाउँदा समस्या नै छ । गत वर्ष लकडाउनमा राहत दिइएको भएपनि यस वर्ष भने डेढ महिना लकडाउन हुँदा आज पहिलो चोटिी राहत पाइयो ।’
स्थानीय नम्रता चौधरीले लकडाउन पछि पहिलो पटक राहत पाउँदा निकै खुसी लागेको बताए । उनले आफू जस्ता दैनिक ज्याला मजदुरी गरेर खाने वर्गका लागि राहत वितरण गरिनुपर्ने बताउँदै बुढाका छोरालाई जन्मदिनको समेत शुभकामना दिएका छन् ।