काठमाडौं । रुपन्देहीको सिमरहवा स्थापित देशकै पहिलो ‘लिक्विड अक्सिजन प्लान्ट’को प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन् ।
शिलान्यासपछि कार्यक्रमलाई प्रधानमन्त्री निवास बालुवाटारबाटै सम्बोधन गर्दै प्रधनमन्त्री ओलीले कोभिड–१९ महामारीको दोस्रो लहर सुरुभएपछि अक्सिजनको तीव्र अभाव ब्यहोरेको नेपालका लागि प्लान्टको स्थापना असाधारण खुसीको विषय भएको बताए ।
कोभिड–१९ सिर्जित परिस्थितिले यस कार्यमा प्रेरित गरेको भन्दै प्रधानमन्त्री ओलीले भने– ‘दोस्रो लहरले हामीलाई एक्कासी अक्सिजनको अभाव, सिलिन्डरको अभाव आदिले ग्रस्त बनायो । त्यतिबेला हामीले महंगो मूल्य तिरेरै पनि अक्सिजन सिलिन्डर किन्यौं । ति समस्याहरुले गर्दा आज आफै उत्पादन गर्ने अवस्थामा पुग्यौं ।’
सरकारले देश भित्रै अक्सिजनको पर्याप्त उत्पादन गर्ने सोच राख्दै हरेक १ सय शय्याभन्दा बढी भएका अस्पतालले अनिवार्य रुपमा आफैले अक्सिजन प्लान्ट राख्नुपर्ने व्यवस्था बनायएको बताउँदै प्रधानमन्त्री ओलीले महामारीका समयमा त्यसबाट पनि नपुग्ने देखिएकोले लिक्वीड अक्सिजन प्लान्ट राख्ने निश्कर्षमा सरकारका पुगेको जानकारी दिए ।
रुपन्देहीको सिमरहवामा स्थापित यो प्लान्टबाट प्रतिदिन कुल ६० मेट्रिक टन ‘लिक्विड अक्सिजन’ उत्पादन हुने बताइएको छ । यसबाट सात हजार ठूला सिलिन्डरमा अक्सिजन भर्न सकिन्छ ।