Logo
Logo

सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट दिन निर्देशन


दृष्टि संवाददाता

252
Shares

काठमाडौं । सरकारले अनिवार्य बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न स्थानीय तहलाई निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै भत्ता अनलाइन बैंकिङ प्रणालीबाट गर्न भनेको हो ।

भत्ता बैंकिङ प्रणालीबाट बितरण गर्ने सम्बन्धी प्रष्ट व्यवस्था भए पनि केहि स्थानीय तहबाट नगद रकम निकाली लाभग्राहीलाई नगद नै बितरण गर्ने गरेको जानकारी पाएपछि मन्त्रालयले यस्तो परिपत्र गरेको हो ।

मन्त्रालयले नगद रकम बितरण गर्दा कतिपय ठाउँमा नगद चोरी भएको, लुटिएको, हराएको जस्ता सामाचार समेत सार्वजनिक सञ्चारमाध्यमबाट जानकारी आएको जनाएको छ ।

केही समय अघि नुवाकोटको पञ्चकन्या गाउँपालिकामा बैकबाट भत्ता वितरणका लागि भन्दै निकालिएको ५३ लाख रुपैयाँ चोरी भएको थियो भने अहिलेसम्म उक्त रकम भेटिएको छैन । नगद रकम लिई बितरण गर्ने कर्मचारीबाट समेत विभिन्न प्रकारका आर्थिक अनियमितता र दुरुपयोग हुने गरेको विगतका लेखापरीक्षण प्रतिवेदनले औल्याएको समेत परिपत्रमा ध्यानाकर्षण गराइएको छ ।

सामाजिक सुरक्षा ऐन, २०७५ को दफा १७ को उपदफा ३ बमोजिम स्थानीय तहमा अनिवार्य रुपमा बैंकिङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता बितरण गर्ने व्यवस्था लागू गर्न गराउन (सम्बन्धित स्थानीय तहको नाम र यो व्यवस्था लागू हुने मिति तोकी गृह मन्त्रालयले ७ महिना अघि गत कात्तीक २४ गते रापत्रमा सूचना प्रकाशित गरिसकेको छ ।

मन्त्रालयले पनि पटक–पटक बैंकिङ प्रणालीबाट मात्र सामाजिक सुरक्षा भत्ता बितरण गर्न गराउन परिपत्र गर्दै आएको स्मरण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्