Logo
Logo
बाढी र पहिरोको प्रकोप

विभिन्न जिल्लामा डुबान, ठाउँठाउँमा सडक अवरूद्ध


दृष्टि संवाददाता

1.2k
Shares

काठमाडाैं । सोमबार रातिदेखि जारी अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी र पहिरोको प्रकोप शुरु भएको छ। देशका विभिन्न ठाउँमा सडक अवरुद्ध भएको छ भने सबैभन्दा धेरै क्षति गण्डकी प्रदेशमा भएकाे प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। 

प्रहरीका अनुसार पहिरोका कारण बझाङ, डोटी, पाल्पा र रुपन्देहीका केही स्थानमा सडक अवरुद्ध भएको छ। पहिराेले बझाङको जयपृथ्वी नगरपालिका-७ स्थित कचालीखोला नजिकको सडक अवरुद्ध भएको थियाे । अहिले अस्थायी रुपमा सडक सञ्चालन गरिएको छ ।  

कैलालीको अत्तरीया–डडेल्धुरा भीमदत्त राजमार्गअन्तर्गत डोटीको जोरायल गाउँपालिकाअन्तर्गत पर्ने गैरामा पहिरो खस्दा दिनभर सडक अवरुद्ध भएको थियाे। पहिरो हटाएर यातायात अहिले सञ्चालनमा छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार निरन्तरको वर्षाले कास्की, बागलुङ, मनाङ र पर्वतमा घरमै क्षति पुगेको छ । मनाङको नासोँ गाउँपालिका–१, तालगाउँ डुबानमा परेको छ । प्रहरी कार्यालय नै डुवानमा छ ।

अन्नपूर्ण गाउँपालिका–७ बिरेठाँटीमा मोदी खोलाको पानीको बहाब बढेर ६ घरमा क्षति पुगेको छ । विस्थापितलाई आफन्त र छरछिमेकमा व्यवस्थापन गरिएको छ । 

पर्वतमा रहेको विश्वकै ठूलो शालिग्राम शिला र शिला क्षेत्रमा रहेको बजार निरन्तरको वर्षाले डुबानमा परेको छ । पर्वत, स्याङजा र गुल्मीको सीमानामा पर्ने सेतीवेणीमा रहेको शालिग्राम शिला र स्याङ्जातर्फको बजार डुबानमा परेको हो ।

बजारवासीलाई संरक्षणका लागि बनाइएको तटबन्ध र ग्याविनसमेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधारमा पूर्ण क्षति पुगेको छ । पानीको बहाव ह्वात्तै बढेपछि स्थानीय रातभर जाग्राम बसेका थिए । कालीगण्डकी र सेती खोला दुवैको बहाव उच्च हुँदा जोखिम बढेको हो ।

जलजला गाउँपालिका–३ वारीबेनीमा एक स्थानीयको घर भत्किएको छ । स्थानीय अमृत केसीको ढुङ्गा माटोले बनेको दुई तले कच्ची घर भत्किएको हो । 

लगातारको झरीले नारायणी नदीमा पानीको सतह खतराको तहभन्दा माथि गएपछि गणडक ब्यारेजका सबै ढाेका खाेलिएकाे छ । देवघाट जलमापन केन्द्रका अनुसार मंगलबार अपरान्ह ४ बजेपछि पानीको सतह ८ दशमलब २६ मिटरभन्दा माथि पुगेपछि ब्यारेजका सबै ढाेका खाेलिएकाे हाे ।

बागलुङकाे काठेखोला गाँउपालिका–६ इनारपानी बस्ने शिवलाल कँडेलको ढुङ्गा माटोले बनेको खरको छानो भएको २ तले कच्ची घरमा क्षति भएको छ । त्यहाँ बस्ने चार जना विस्थापित भएका छन् । 

पाल्पाको रम्भा गाउँपालिका-४ हुमिनस्थित आर्यभन्ज्याङ-रामपुर पक्की सडक, पाल्पा पूर्वखोला गाउँपालिका-१ बैछापस्थित आर्यभन्ज्याङ-रामपुर पक्की सडक पनि बाढी र पहिरोले अवरुद्ध भएको छ।  

यस्तै, रुपन्देही देवदह नगरपालिका-१० चरङगेस्थित बन्दै गरेको पुलको ड्राईभर्सन बगाई सडक अवरोध भएको प्रहरीले जानकारी दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्