सबैले बुझ्ने भाषामा भन्ने हो भने नेपाली जनताले नेपाल कम्युनिष्ट पार्टीलाई दिएको दुईतिहाइ मत ‘बाँदरको हातमा नरिवल’जस्तै भयो । नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नरहे बाँस, नबजे बाँसुरी’ बनाए । हुँदाहुँदा अहिले उनी टाउकाले टेकेर हिँड्ने अवस्थामा पुगेका छन् । यो उनको अन्तिम गति हो ।
पुस ५ गते प्रतिनिधिसभा भंग गरेर दुवै हात काटे । वैशाख ७ गते फेरि प्रतिनिधिसभा भंग गरेर दुई खुट्टा पनि काटे । अलिअलि प्वाख उम्रदै थियो, त्यो पनि सर्वोच्च अदालतको जेठ २७ गतेको फैसलाले काँटियो । हेर्दाहेर्दै यो तीन वर्षभित्र एउटा शक्तिशाली प्रधानमन्त्री कसरी शक्तिविहीन बन्दैछन् र उनको पतन कसरी निम्तिँदैछ भन्ने कुरा अब यही आँखाले हेर्न मात्र बाँकी छ ।
हिजो दुईतिहाइको प्रधानमन्त्री बनाउन उनलाई प्रस्ताव गर्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज उनीसँग छैनन् । हिजो प्रधानमन्त्री बनाउन समर्थन गर्ने माधवकुमार नेपाल पनि आज उनीसँग छैनन् । आज उनीसँग जो छन्, ती पनि दुई दिनका पाहुना मात्र हुन् ।
ओली शक्तिमा हुन्जेलमात्र तिनीहरु बालुवाटारको चक्कर काट्ने हुन् । मौका परे प्रतिनिधिसभा पुनःस्थापना हुनासाथ तिनीहरु पनि बालुवाटारको डुंगाबाट हामफाल्नेछन् । त्यसपछि लुरुलुरु एक्लै बालकोट जाने दिन पनि यही आँखाले हेर्नुपर्ने छ ।
दुईतिहाइको शक्तिशाली प्रधानमन्त्री आज ब्याट्री सिद्धिएको मोबाइलजस्तै अवस्थामा पुग्नुको पछाडि अरु कसैको दोष छैन, दोष छ त आफ्नै । यो तीन वर्षमा धेरै काम गर्न सकिन्थ्यो, त्यसका लागि उनले पार्टी एकता जोगाउन सक्नुपथ्र्यो । महन्थ ठाकुरसँग बालुवाटारमा घण्टौँ बसेर गफ गर्नेले प्रचण्ड–माधव नेपालहरुको कुरा सुन्न सक्नुपथ्र्यो । अब त त्यो दिन पनि टाढैको कुरा भयो ।
ओलीको पछिल्लो गतिविधिलाई लिएर सामाजिक सञ्जालमा उनलाई ‘तानाशाह’, ‘निरंकुश’ बन्न खोजेको आरोप लगाएका छन् । तानाशाह बन्न पनि अक्कल चाहिन्छ । तानाशाहले पनि आफूलाई जे मन लाग्यो, त्यही निर्णय गर्दैन । तानाशाहले पनि निर्णय गर्नु अगाडि धेरैपटक सोच्छ, विचार गर्छ र अन्तिममा आफूले सोचेको कुरा देश र जनताको पक्षमा छ भने मात्र निर्णय गर्छ ।
तानाशाहहरुको पतन अवश्य हुन्छ, तर तानाशाहहरु टिक्नुको पछाडि तानाशाही कदम चाल्नुको प्रमुख कारण हो । यहाँ त टिक्नलाई होइन, पतन हुनका लागि तानाशाह हुने रहर जागेको छ । के गर्दा जनता खुशी हुन्छन् ? के गर्दा जनता रिसाउँछन् भन्ने कुराको कुनै मतलब छैन । आँखामा पट्टी बाँधेर हिँडेको तानाशाहले लामो यात्रा गर्न सक्दैन ।
अहिले पनि विश्वमा तानाशाहहरु छन् । ओलीजस्ता व्यक्तिलाई तानाशाह भन्नु त तानाशाह शब्दकै अपमान हुन्छ । जहाँसम्म निरंकुशताको कुरा छ, त्यो उनीभित्रको कुण्ठा हो । अन्ततः त्यही कुण्ठाले आफैँलाई पतनको डिलमा पुर्याएको छ ।
‘निरंकुश’ भनिने शासकहरुले पनि आ–आफ्नो लक्ष्य र उद्देश्य बोकेका हुन्छन् । त्यो लक्ष्य र उद्देश्य पूर्तिका लागि त्यस्ता शासकहरुले पनि देश र जनतालाई केन्द्रमा राखेर आफ्ना कदमहरु चाल्ने गर्छन् । त्यस्ता शासकहरुले आफ्नो शासन सत्ता टिकाउन सबैभन्दा पहिला जनतालाई खुशी पार्न अनेकौं प्रयास गरेका हुन्छन् ।
भ्रष्टाचारी, बिचौलिया र समाजका अपराधीहरुलाई मृत्युदण्ड दिनसमेत ‘निरंकुश’ शासकहरु पछाडि पर्दैनन् । जनताको आकांक्षा भनेकै समृद्धि हासिल गर्नु हो । जुनसुकै विधि र पद्धति अपनाएका मुलुकहरुले सबैभन्दा पहिला आफ्ना जनतालाई खुशी पार्ने प्रयास गर्छन् । हाम्रा दुई छिमेकी चीन र भारतले छुट्टाछुट्टै शासन व्यवस्थाको माध्यमबाट आर्थिक समृद्धि हासिल गरेका छन् ।
सात सालदेखि अहिलेसम्म हामी पनि लोकतान्त्रिक अभ्यासमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’को चाहनामा छौँ । त्यो प्राप्ति गर्नका लागि सबैभन्दा पहिला राजनीतिक स्थिरता आवश्यक पर्छ । त्यही राजनीतिक स्थिरताका लागि नेपाली जनताले दुईतिहाइ मत नेपाल कम्युनिष्ट पार्टीलाई दिएका हुन् ।
राजनीतिको केन्द्र भागमा रहेका नेता आफैँप्रति इमान्दार भइदिएको भए यो परिस्थिति आउने थिएन । तर, दुर्भाग्य आफ्नो सम्पूर्ण शक्ति क्षय गरेर क्षणिक शासन सत्ता लम्ब्याउन खोज्ने शासकलाई हामीले ‘तानाशाह’ भनेर भन्ने गरेका छौं । यो त ‘तानाशाह’ भन्दा अराजक शासन पद्धति हो । जसले संविधान, ऐन कानून र विधि पद्धति केही पनि मान्दैन ।
तानाशाह शासकहरु त कमसेकम संविधान, नियम, कानूनअनुसार चल्छन् । भलै, त्यस्ता शासकप्रति जनता नकारात्मक किन नहोस्, ती नकारात्मक जनतालाई पनि खुशी पार्ने प्रयास त्यस्ता शासकहरुले बुनिरहेका हुन्छन् । ताकि आफ्नो शासन सत्ता लामो समयसम्म टिकोस् । यहाँ त ठिक त्यसको उल्टो दुईतिहाइ शक्ति भएको संसद् भंग भएको छ ।
आफ्नै पार्टी दुई टुक्रा भएको छ । इतिहासमै कमजोर बनेका असक्षम शासकलाई सामाजिक सञ्जालमा तानाशाह शब्द प्रयोग गर्नु शब्दकै अपमान हो ।