Logo
Logo

मनाङमा बाढीपहिरो : सयौँ घर विस्थापित, विद्युत् पूर्ण रुपमा बिच्छेद


दृष्टि संवाददाता

504
Shares

मनाङ । मंगलबार दिनभर अविरल वर्षाका कारणका मनाङ जिल्ला अति प्रभाविन भएको छ । बाढी र पहिरोका कारण मनाङ सदरमुकाम चामेदेखि जिल्लाको नासो गाउँपालिकाको तालगाउँ प्रभावित भएको हो ।

मस्र्याङदी नदीमा पानीको बहाव बढेका कारण सयौँ घर विस्थापित भएका छन् । सदरमुकाम चामे बजारका सरकारी कार्यालयदेखि, होटेल, वर्कशप सबै बगाएको छ ।
चामे गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष प्रेमकुमार श्रेष्ठका अनुसार बाढीका कारण त्यहाँका स्थानीय कोही आफन्तको शरणमा छन् त कोही जंगलमा अलपत्र परेका छन् ।

स्थानीय प्रशासनले जिल्ला कारागारको नवनिर्मित भवनमा बजारका बासिन्दालाई उद्धार गरेको छ । तर, यार्सागुम्बा टिप्ने सिजन भएकाले कतिपय मानिस जंगलमै अलपत्र परेको हुन सक्ने अनुमान गरिएको छ ।

वडाध्यक्ष श्रेष्ठले भने, ‘हामी पनि जोखिममा छौँ । चार–पाँच ठाउँमा छरिएर बसेका छौँ । नेटवर्कका कारण हाम्रो सम्बन्ध पनि अरुसँग भएको छैन । हामी बजार क्षेत्रका १०० जना कोही पिकनिक स्थलमा छौँ, कोही आफन्तकोमा छौँ । यहाँको बेलिब्रिज पुल बगाइसक्यो । जिल्ला हुलाकको कार्यालय पनि छैन । वडाध्यक्षको घर पनि बगाएको छ । सांग्रिला होटेल पनि जगैदेखि बगाएको छ ।’

उनले अहिलेसम्म मानवीय क्षति सुन्नमा नआएको बताए । अहिले यार्सागुम्बाको सिजन भएकाले कोही जंगलतिरै रहेको उनको भनाइ छ । उनले भने, ‘हामीसँग केही बूढापाका हुनुहुन्छ । मैले त आफन्तको घरमा खाएँ । आफन्त हुने त्यतै गए । तीन–चार सयजनाको टोलीलाई चाहिँ सेनाले खाना खुवाउने भनेको छ रे । विद्युत् पूर्ण रुपमा बिच्छेद छ ।’

मनाङका प्रहरी प्रमुख डीएसपी सुवा खड्काका अनुसार चामे र नासो गाउँपालिकामा गरी करिब २०० घरधुरीका झन्डै एक हजारजना मानिस विस्थापित भएका छन् ।


सोमबार साँझदेखि परेको भीषण वर्षाले चामे गाउँपालिका–१, तिमाङ खोलाको बेलिब्रिज बगाएको छ । तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघुजलविद्युतगृह पनि बगाएको छ । त्यस्तै, सदरमुकाम चामेमा चारवटा घर बाढीले बगाएर क्षति पु¥याएको छ ।तालगाउँका बासिन्दा आफन्तको शरणमा पुगेका छन् । कतिपयलाई अस्थायी टहरा र त्रिपालमा राखिएको छ । चामे बजारका बासिन्दा भने कारागार भवनमा छन् । उनीहरुलाई गाउँपालिका र नेपाली सेनाको समन्वयमा खाना खुवाइएको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार हालसम्म कुनै मानवीय क्षति नभएको र काठमाडौंबाट सेनाको रेस्क्यु टिम आउने तयारीमा रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्