काठमाडौं । गम्भीर बिरामी भएर उपचारका लागि दिल्ली जान लागेका नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न महासचिव ईश्वर पोखरेलले नर्भिक अस्पताल पुगेका छन् । सो क्रममा नेता खनालले पार्टीलाई एकताबद्ध बनाउन महासचिव पोखरेललाई आग्रह गरेका छन् । नेता खनालको थप उपचारका लागि आजै दिल्ली जाँदैछन् ।
आफूलाई भेट्न आएका महासचिव पोखरेललाई खनालले पार्टी एकताका लागि भूमिका खेल्न आग्रह गरेको छन् । महासचिव पोखरेलले नेता खानलको स्वास्थ्यलाभको कामना गर्दै चाँडै भेट्ने बताए । अहिले नेता खनालको अक्सिजनको सपोर्टमा उपचार भइरहेको छ ।
महासचिवका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरु सक्रिय रहेका बेला उच्च नेताबीचमा पनि अनौपचारिक संवाद भइरहेको छ तर निकास निस्किसकेको छैन ।
नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको तथा ज्वरोसँगै स्वास्थ्यमा थकान महसुस हुने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उहाँलाई गत जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो । केही महिनाअघि नेता खनाल कोभिड–१९ सङ्क्रमणमुक्त भएका थिए ।