काठमाडौं । विपद व्यवस्थापन कार्यकारी समितिको आकस्मिक बैठकले सिन्धुपाल्चोकसहितका बाढीपहिरो प्रभावित क्षेत्रको अवस्था तत्काल विश्लेषण गरी उद्धार, राहत तथा उपचारमा जुट्न सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
यस्तै, बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०७८ स्वीकृत गरेको छ । बुधबार बसेको समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०७८ को साथै विपद् व्यवस्थापन स्वयंसेवक ब्यूरो गठन तथा परिचालन कार्यविधि, २०७८, प्रारम्भिक द्रुत लेखाजोखा कार्यविधि, २०७८ , गैर सरकारी संस्था परिचालन सम्वन्धि कार्यविधि, २०७८ र आगलागी तथा डढेलोबाट क्षति भएका निजी आवास पुनःनिर्माण सम्वन्धि कार्यविधि २०७८ लाई स्विकृत गरेको हो ।
सिंहदरबारस्थित गृहमन्त्रालयमा बसेको बैठकले नुवाकोट जिल्लाको दुप्चेश्वर गाँउपालिका वडा नम्वर १ को नेगी भन्ने स्थानमा रहेको ढुङ्गाको व्यवस्थापनका लागि बजेट विनियोजन गर्ने निर्णय समेत गरेको छ ।
बैठकमा गृहमन्त्री खगराज अधिकारीले अहिले बाढी पहिरोको जोखिम बढिरहेकाले तत्काल राहत तथा उद्धार खटिन मातहतका निकायलाई निर्देशन दिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका प्रमुख अनिल पोखरेलले जानकारी दिए ।
मंगलबार साँझ आएको बाढी र पहिरोका कारण सिन्धुपाल्चोकको मेलम्चीमा सात जनाको मृत्यु भएको छ भने अझै केही बेपता छन् । यस्तै, मनाङ, म्याग्दी, दाङलगायतका अन्य जिल्ला समेत बाढीपहिरोबाट थप्रै धनजनको क्षतिहरु भएका खबरहरु आइरहेका छन् । बैठकमा सुरक्षानिकायले बाढी पहिरो डुबानको पछिल्लो अवस्थाको बारेमा विपद व्यवस्थापन कार्यकारी समितिलाई ब्रिफिङ गरेको थियो ।